४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–७ हल्दुखालका ४६ वर्षीय हरकसिंह महरालाई असार ११ गते गिरफ्तार गरेको छ ।
खुट्टामा समस्या भएपछि उपचार गर्न हल्दुखालस्थित महरा मेडिकलमा गएको बेला मेडिकल सञ्चालक महराले असार ११ गते मेडिकल भित्रै बलात्कार गरी कुटपिट समेत गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितले अरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ११ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका, डिएसपी प्रकाश डाँगीले बताउनु भयो ।
पीडितको अवस्था सामान्य रहेको भए पनि सुरक्षाको दृष्टिकोणबाट पीडितलाई जानकीटोलस्थित अल्पकालिन सेवा केन्द्रमा राखिएको सेवा केन्द्रका संयोजक मञ्जु केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार ११ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।