अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा असार ७ गते मानव अधिकारको अवस्था सम्बन्धमा पत्रकारसँग समन्वय बैठक धनगढीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा मानव अधिकारको अवस्थाको बारेमा छलफल गरिएको थियो । इन्सेक क्षेत्रीय कार्यालय धनगढीका संयोजक खडकराज जोशीले पत्रकार अग्रपङ्क्तिको मानव अधिकार रक्षक भएकोले मानव अधिकारको संरक्षणमा पत्रकारहरूको अग्रणी भूमिका रहनु आवश्यक भएको बताए ।
जातीय विभेदलगायत महिलामाथि हुने सबै प्रकारका हिंसाबाट महिला पीडित हुनु परेको दलित महिला अधिकार मञ्चकी अध्यक्ष तथा महिला अधिकारकर्मी विमला वाग्लेले बताइन् ।
पत्रकारहरूले राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको बारेमा पटकपटक अवाज उठाउँदा पनि सम्बन्धित निकायले कार्यन्वयन नगर्ने र सुनुवाइ नहुने गरेकोले आफू निरूत्साहित हुने गरेको पत्रकार सिताराम ओझाले गुनासो गरे ।
पत्रकार हरि जोशीले नागरिक समाज, मानव अधिकारकर्मी र पत्रकारले सम्बन्धित निकाय र सम्बन्धित पक्षलाई दबाव दिन नसक्दा मानव अधिकार संरक्षण हुन नसकेको बताए ।