१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिबरुल मियाँविरुद्ध प्रहरीले ०८० असार ७ गते उजुरी दर्ता गरेको छ ।
पीडितकी आमाले दिएको उजुुरी जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको हो । आरोपितले आफ्नो घरमा ०७९ मङ्गसिर १ देखि चैत ५ गतेसम्म विवाहको प्रलोभन दिई बलात्कार गरेर गर्भ बसेको पीडितले बताएकी छिन् ।
पीडितको ०७९ माघ ८ गते भारतको जम्मु कश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीसँग बालविवाह भएको थियो । बालविवाह गरेर भारततर्फ जादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बनैनियाको टोलीले बालिका र उनका पति जिलानीलगायतलाई माघ १४ गते गिरफ्तार गरेको थियो । बालिकाको माघ १४ गते स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएको पत्ता लागेपछि जिलानीले पत्नी अस्विकार गरेका छन् । बालविवाहका अभियुक्त जिलानी ०८० जेठ १ गते कैद सजाय भोगेर राजविराज कारागारबाट रिहा भएपछि पीडितलाई पत्नी अस्विकार गर्दै भारत गएका छन् ।
विवाह भन्दा अगाडिदेखि नै शारीरिक सम्बन्ध राखेका आरोपित जिबरुलले समेत गर्भ अस्विकार गर्दै फरार भएका छन् । पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको छ ।