सुदूरपश्चिम प्रदेशको राजधानी रहेको यस जिल्लाको दुर्गम मानिने मोहन्याल गाउँपालिकामा पिउने पानीको चरम अभाव हुँदा स्थानीयहरु खोलाको पानी पिउन बाध्य भएका र खोलाको पानी पिउनु पर्ने बाध्यताले पेट दुख्ने, पखाला लाग्ने जस्ता स्वस्थ्य समस्याहरु देखिने गरेको स्थानीयहरुले गुनासो गर्नुभएको छ ।
जेठ र असार महिनाको गर्मीमा पानीको मुहान सुक्दा गाउँपालिकाका सबै वडाहरुमा पिउने पानीको चरम अभाव भएपछि स्थानीयहरु एक घण्टा हिडेर कर्णाली नदी तथा गाउँ नजिकै रहेका खोलाको पानी ल्याएर गुजारा गर्न बाध्य भएका छन् ।
मोहन्याल गाउँपालिका–६ का वडा सदस्य रुपादेवी टमट्टाले नजिकैको खोलाको मूल सुकेपछि गाउँमा पानीको अभाव भएको बताउनु भयो । उहाँले पानीको मूल नै सुकेपछि स्थानीयहरु एक घण्टा पैदल हिडेर कर्णाली नदीको पानी ल्याएर गुजरा गर्न बाध्य हुनु परेको बताउनु भयो ।
स्थानीय जमुनादेवी कामीले नजिकै रहेको पानीको मूल सुकेर पानीको समस्या उत्पन्न भएपछि पिउन, नुहाउन, कपडा तथा भाडाँकुडा धुन एक घण्टा हिडेर भालु खोलाको पानी ल्याउन बाध्य भएको गुनासो गर्नु भयो । उहाँले खोलाको पानी पिउन सुरुगरेदेखि बालबालिकाको पेट दुख्ने, झाडापाखाला लाग्ने तथा अपच हुने जस्ता स्वास्थ्य समस्याहरु देखापरेको बताउनु भयो ।
स्थानीय रम्भादेवी भण्डारीले पानीको मूल सुकेर पाइपमा पानी आउन बन्द भएपछि गाईवस्तुलाई खुवाउन, लुगाकपडा धुन र भान्सामा प्रयोग गर्न समेत खोलाको पानी प्रयोग गर्नु परेको गुनासो गर्नु भयो ।
स्थानीय विष्णादेवी टमट्टाले भन्नु भयो– ‘सोल्टाका महिलाहरुलाई बिहान चार बजेदेखि पानीकै जोहो गर्नमा धेरै समय खर्चिनु पर्ने बाध्यता सृजना भएको छ । पानी बोक्न धेरै समय खर्चिनु पर्ने भएकोले बालबालिकाहरुलाई विद्यालय पठाउन समेत समस्या हुने गरेको छ । ढिलो भएको दिन बालबालिकाहरु विद्यालय समेत जाँन पाउदैनन् ।’
स्थानीय नामसरा टमट्टाले पाँच वर्षको कार्यकालमा जनप्रतिनिधिहरुले पाईप बिछ्याएर पानीको व्यवस्थापन गरे पनि पानीको मुहान सुकेर पाईपमा पानी आउन बन्द भएपछि समस्या भएको बताउनु भयो ।
बुढीगाउँकी मनसरा भुलले बिहान दई घण्टासम्म मात्र पाइपमा अलिअलि पानी आउने हुँदा बालबालिकादेखि जवानसम्म बिहानै पानीको लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।
हरेक वर्षको चैतदेखि असार महिनासम्म सुक्खा मौसममा पानीको मूल सुक्दा मोहन्याल गाउँपालिका–६ स्थित अजीमरे, सोल्ता, भोटेकाट, सेतीकोटका गाउँका ६ सय ५० जनाले पिउने पानीको समस्या भोग्दै आइरहेको मोहन्याल गाउँपालिका—६ का वडाध्यक्ष कृष्णबहादुर शाहीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘बस्ती टाँढा—टाँढा छन् । उनीहरुले आफूलाई पायक पर्ने नजिकै रहेको खोला तथा नदीबाट पानीको जोहो गर्छन् । त्यो पनी पिउनका लागि उपयुक्त छैन् । तर, बाध्यताले त्यही खोलाको पानी पिउनु परेको छ ।’
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले सुख्खा तथा गर्मी मौसममा गाउँपालिकाका सात ओटै वडामा चैत महिनादेखि असारसम्म तथा आकाशे पानी नपर्दासम्म हरेक वर्ष स्थानीयहरुले पानीको समस्या भोग्नु परेको बताउनु भयो ।
उहाँले पानीको समस्या समाधानका लागि दुई ठाउँमा आकाशे ट्याङ्की राखिएको, आरएमभीडब्लुआरएमपी परियोजनाले पिउने पानी उपलब्ध गराउनका लागि काम गरिरहेको भए पनि प्रयाप्त नभएकोले कर्णाली जल परियोजनासँग साझेदारी गरी गाउँपालिकाको सात ओटै वडामा पानी पुर्याउने गरी प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
नेपालको संविधानमा मौलिक हक अन्तर्गत धारा ३५ को ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भन्ने व्यवस्था गरेको भए पनि २२ हजार जनसङ्ख्या रहेको महुन्याल गाउँपालिकामा हरेक वर्ष गर्मी मौसममा आधा भन्दा बढीले पानीको समस्या भोग्नु परेको छ ।



