INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा विभिन्न जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएका छन् ।

इन्सेक धनकुटा जिल्ला प्रतिनिधि सन्तोष रुचालका अनुसार धनकुटामा जिल्ला अध्यक्षसहित तीन जनालाई गिरफ्तार गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्दै आएको सो पार्टीले निर्वाचन विरोधी गतिविधि गरी शान्ति सुरक्षामा खलल पार्ने देखिएकाले जिल्ला अध्यक्ष ३८ वर्षीय आकाश शर्मा, सदस्य ४२ वर्षीय याम भनिने राजन अधिकारी र ३५ वर्षीय रणबहादुर राईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुदिप राजभण्डारीले बताए ।

इन्सेक दाङ जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार निर्वाचन गतिविधिलाई बिथोल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता सुरज परियारलाई असार ५ गते राप्ती गाउँपालिका-१ भालुवाङबाट गिरफ्तार गरेको छ ।

उम्मेदवारहरूलाई फोनमार्फत धम्क्याउने कार्य गरेको आरोपमा परियारलाई गिरफ्तार गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालयमा एसपी धिरजप्रताप सिंहले बताए ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टीले जिल्लाका अधिकांश उम्मेदवारहरूको घरमा राखेको कालो झण्डा प्रहरीले हटाएको छ । निर्वाचन बहिष्कारमा लागेको नेकपाले विरोध स्वरूप जिल्लाका उपमहानगरपालिका र नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका प्रमुख उपप्रमुखको घरमा असार ४ गते राति कालोझण्डा राखेका थिए । प्रहरीले ५ गते बिहानै सबै ठाउँबाट कालोझण्डा हटाएको एसपी धिरजप्रताप सिंहले बताए ।

अन्य

भिडियो