बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमको लागि ३० करोड ७४ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले ०८० असार १ गते ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई विस्तार गरी आगामी आर्थिक वर्ष भित्र कक्षा १२ सम्म सञ्चालन गर्नको लागि उक्त बजेट विनियोजन गरेको बताउनु भयो ।
सामुदायिक शिक्षा गुणस्तरीय बनाउन ११ करोड बजेट छुट्याएको छ भने सामुदायिक विद्यालय भवन निर्माण तथा सुधारको लागि ६१ करोड छुट्याएको छ ।
‘बागमती प्रदेश स्वास्थ्य प्रदेश’ भन्ने नाराका साथ स्वास्थ क्षेत्रमा ४ अर्ब ७ करोड रुपियाँ बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उहाँले अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवामा जोड दिने बताउनु भयो ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमका लागि ६ करोड रुपियाँ विनियोजन गरेको उहँले बताउनु भयो । प्रदेशका तीन ओटा अस्पतालमा सिटी स्क्यान र मेमोग्राफी मेसिन वितरण गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्नातकोत्तर तहको अध्यापनको सुरुवात गर्ने, प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपियाँ विनियोजन गरिने मन्त्री लामाले बताउनु भयो ।
गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि निशुल्क हवाई सेवा उपलब्ध गराउने मन्त्री लामाले उल्लेख गर्नुभयो ।
सामाजिक विकास मन्त्रालयलाई ४ अर्ब बजेट छुट्याइएको छ । चेपाङको पहिचानसँग जोडिएको चिउरी र चमेरा संरक्षण कार्यक्रम प्राथमिकतामा राखिएको लामाले बताउनु भयो । ‘प्रदेशमा महिला पहिला’ भन्ने कार्याक्रम लागु गरिने भएको छ ।
आगामी आर्थिक वर्षदेखि तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने भएको छ ।
