खाँडादेवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भइरहेको बेला गाउँपालिका अध्यक्ष र वडा सदस्यलाई कांग्रेस कार्यकर्ताले ०८० जेठ ३१ गते आक्रमण गरेका छन् ।

उक्त आक्रमणमा खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ र ४ नम्बर वडा सदस्य भीमबहादुर बस्नेत घाइते हुनुभएको छ ।
६ नम्बर वडाध्यक्ष नारायण कार्कीको निर्देशनमा र वडा सदस्य मिलन खत्रीको नेतृत्वमा गएको नेपाली कांग्रेसका कार्यकर्ता सौरभ केसी, सन्दीप कार्की, निर्मल केसी, सुजन केसी, बाबु केसी र सञ्जय बुढाथोकीले आक्रमण गर्दा घाइते हुनुभएको हो ।
कार्यक्रममा बोलिरहेको बेला ६ नम्बर वडाको विकास बजेट कटौती गरेको भन्दै खत्रीको नेतृत्वमा गएका कांग्रेसका कार्यकर्ताले अध्यक्ष श्रेष्ठलाई पानीको बोतलले हानेका थिए ।
उहाँलाई बेञ्ची उचालेर हान्नेलाई रोक्न खोज्दा वडा सदस्य बस्नेतको हातमा चोट लागेको थियो । बस्नेतको गाउँपालिकाको स्वास्थ्य शाखामा उपचार भयो ।
सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै गाउँपालिका कार्यालयले जेठ ३२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरायो ।
घटनाको विरोध गर्दै नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटीले सोही दिन प्रेस विज्ञप्ति जारी गरेको थियो ।
