गुल्मीमा मदाने गाउँपालिकामा स्थानीयले एक साता देखि गरेको तालाबन्दीका कारण सेवा प्रवाहमा समस्या भएको छ ।
मदाने गाउँपालिका–६ का स्थानीयले जेठ ४ गतेदेखि मदाने गाउँपालिकाक प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीको कार्यकक्ष र शिक्षा शाखामा तालाबन्दी गरेका छन् ।
मदाने गाउँपालिका–६ पुर्कोटको पृथ्वी माविमा गणित बिषयको दरबन्दी परिवर्तन गरेको बिरोधमा तालाबन्दी भएको हो ।
विद्यालय व्यावस्थापन समितिले गाउँ शिक्षा समितिमा छलफल नगरि निर्णय सिधै गाउँपालिकामा पठाएपछि तालाबन्दी गरिएको आन्दोलनका अगुवा बाबुराम कुवंरले बताउनु भयो ।
कुवरका अनुसार विद्यालयमा मावि र निमाविमा दुई गणित बिषयको दरबन्दी रहेको छ । विद्यालय प्रशासन र शिक्षकको कारण धेरै वर्षदेखि गणित बिषयमा निकै कम विद्यार्थी उर्तिण हुँदै आएका छन् । प्रशासनले पढाई सुधार गर्नुको साटो बिषयगत दरबन्दी परिवर्तन गरेको आरोप लगाउनु भयो ।