विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा फरार आरोपित महादेवा गाउँपालिका–६ का ६० वर्षीय ज्वाँइ सत्यनारायण मण्डल जेठ ३१ गते गिरफ्तार भई थुनामा परेको प्रहरीले जनाएको छ ।
मण्डलविरुद्धको मुद्दा मुल्तबीबाट जाग्नेबित्तिकै जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुर्पक्षका लागि राजबिराज कारागारमा थुनामा पठाएको हो ।
घटनापछि फरार रहेका मृतककी सौता हल्सीदेवी मण्डलका छोरीज्वाँइहरू सत्यनारायण र राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका ५९ वर्षीय रमानन्द मण्डलको हकमा मुद्दा मुल्तबी राखिएको थियो । रमानन्द हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।
घटना अगावै ०७० माघमा मृतकका पति बासुदेव मण्डलको मृत्यु भइसकेको थियो भने बासुदेवकी जेठी पत्नी हल्सीदेवीतर्फ चार छोरी र कान्छी पत्नी मृतकतर्फ एक छोरी थिए ।
पतिको अंश दुई पत्नीलाई बण्डा गर्ने वा पाँच छोरीसहित दुई पत्नीलाई बण्डा गर्ने विषयमा विवाद चलिरहेको थियो । बासुदेवका भाइ असर्फी र असर्फीका छोरा शत्रुघ्न मण्डलले १८ लाख रुपियाँमा बासुदेवसँग जमीन किनेको दावी गर्दै अदालतमा मुद्दा चलाएका थिए ।
अंशवण्डा र जग्गा विवादमा पुनरावेदन अदालतले ०७० चैत १६ गते बासुदेवको नाममा रहेको जमीनमा उर्मिलालाई बाली लगाउन, उठाउन, घरमा बस्न दिनु भन्दै निषेधायुक्त परमादेश जारी गरेपनि आरोपितहरूले बस्न, बाली लगाउन र उठाउन दिएका थिएनन् ।
आरोपितहरूले ०७१ जेठ १२ गते रड, लाठीले प्रहार गरी गोडा भाँचेको भन्दै पीडित उर्मिलाले आवश्यक कारवाहीका लागि ०७१ जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा र शान्ति सुरक्षाका लागि ०७१ साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको थियो ।
आरोपितहरू शत्रुघ्न र सत्यनारायणसहितले ०७१ जेठ १२ गते गरेको कुटपिटबाट घाइते उर्मिलाको गोडामा स्टिल लगाइएको थियो ।
सोही विवादका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षबिच पटकपटक भएको छलफल नमिलेपछि प्रहरी सुरक्षा बेस क्याम्प पत्थरगाढामा ०७१ साउन ११ गते भएको छलफलमा लिखित रूपमा दुबै पक्षबिच जबरजस्ती सहमति गराइएको थियो ।
छलफल राति ८ बजेसम्म टुंगो नलागेपछि पीडित साउन ११ गते राति सिम्राहा सिंग्यौनका दिनेश यादवको स.१प ७४१५ नम्बरको मोटरसाइकलमा चढी राजगढ गाउँपालिका–४ बेल्ही चपेनास्थित छोरीज्वाँइ जितनारायण मण्डलको घर जानु भएको थियो ।
सौता र सौताका छोरीज्वाँइहरूसँग विवाद बढेपछि घटनाको दुई साता अघिदेखि पीडित छोरीज्वाँइ जितनारायणको घरमा बस्दै आउनु भएको थियो ।
छोरीज्वाँइको घर गइरहेका बेला राजगढ गाउँपालिका–४ बेल्ही चपेना पिप्रानजिक पुगेपछि हतियारसहितका व्यक्तिहरूले उर्मिलाको हत्या गरेका थिए ।
धारिलो हतियारले हात, गोडा काटिएको र गर्धन छिनिएको अवस्थामा उर्मिलाको शव राजगढ गाउँपालिका–४ बेल्ही चपेना पिप्रास्थित कोशी पम्प नहरको शाखा नम्बर ४ को किनारमा ०७१ साउन १२ गते फेला परेको थियो । शवको पोष्टमार्टम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा साउन १२ गते नै गरिएको थियो ।
मृतककी छोरी सुनीतादेवी मण्डलले जिल्ला प्रहरी कार्यालयमा ०७१ साउन १३ गते दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको भन्दै मृतकका भिनाजुका भाइ शम्भुनाथ नगरपालिका–१० रामपुर जमुवाका ३५ वर्षीय गोविन्दकुमार मण्डलले राजविराजस्थित हुलाक कार्यालयबाट आठ जना आरोपितविरुद्ध ०७१ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
प्रहरीले पीडितकी छोरी सुनीतादेवीको उजुरी दर्ता गरी अनुसन्धान अघि बढाउँदै ०७१ फागुन २३ गते मृतकका ३९ वर्षीय भतिजा शत्रुघ्न मण्डललाई हनुमाननगर कङ्कालिनी नगरपालिका–५ बाट गिरफ्तार गरेको थियो ।
आरोपित शत्रुघ्न मण्डल ०७१ चैत २२ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ । जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलासले आरोपित शत्रुघ्न मण्डललाई ०७५ माघ २८ गते जन्मकैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतबाट ०७२ जेठ १३ गते १ लाख रुपियाँ धरौटीमा र पुनरावेदन अदालत राजविराजबाट सामान्य तारेखमा रिहा भएका सोही ठाउँका ५० वर्षीय रामध्यानी मण्डलमाथिको अभियोग दावी नपुग्ने भन्दै अदालतले सफाई दिएको थियो ।