दशरथचन्द नगरपालिकाको कार्यपालिका बैठकमा जातीय विभेद भएको भन्दै दलित अधिकारको क्षेत्रमा क्रियाशिल संघसंस्थाहरुले जेठ ३२ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएका छन् ।
जातीय विभेद गर्ने आशयले दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले अभिव्यक्ति दिएको भन्दै दलित अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापन–पत्र बुझाए छन् ।
जेठ २१ गते कार्यपालिका बैठकमा कार्यकार्यपालिकाका सदस्य प्रेम दयालले जनप्रतिनिधि भएर दलितले छोएको पानी खादैनन् भनि कुरा उठाउँदा उपप्रमुख कौशीला चन्दले पानी खानु आफ्नो व्यक्तिगत अधिकारको कुरा भएको भन्ने प्रतिक्रिया दिएकोप्रति दलित अधिकारकर्मीहरुले बिरोध जनाएका हुन् ।
अधिकारकर्मी कर्ण दयालले उपप्रमुख चन्दले जातीय विभेद झल्कने मानसिकताले अभिव्यक्ति दिनु भएकोले उहाँले आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताउनु भयो ।
पछिल्लो समय स्थानीय तहहरुले दलित लक्षित कार्यक्रमहरु पनि गर्न छोडेको अधिकारकर्मी सरस्वती नेपालीले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘पहिले लक्षित बजेटमाथि बाटै तोकेर आउथ्यो, अहिले दया गरेर बजेट दिएजस्तो गरिएको छ ।’
दलित अधिकारकर्मीहरुले ज्ञापन–पत्र बुझाउनु भएकोले उपप्रमुख चन्दलाई कार्यालयमा बोलाएर घटनाका बारेमा जानकारी लिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘उपप्रमुख र अधिकारकर्मीहरुलाई बोलाएर घटनाको वास्तविकताका बारेमा छलफल गरिने छ । यदी जातीय विभेद गर्ने मनसायले उपप्रमुख चन्दले अभिव्यक्ति दिनुभएको भए कार्वाहीको भागिदार हुनु पर्छ ।’
दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशीला चन्दले भने आफूले कुनै प्रकारको जातीय विभेद नगरेको बताउनु भयो ।
उहाँले दलित समुदायका व्यक्तिहरुको विवाहमा समेत समावेस हुने गरेको तर, खाना भने घरमै खाएर आउने गरेको बताउँदै आफूमाथि जातीय विभेदको झुट्टा आरोप लगाइएको बताउनु भयो ।


