छेडेदह गाउँपालिकाका नेपाली काङ्ग्रेसका प्रमुख नरबहादुर रावतसहित दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लगेको छ ।
नियन्त्रणमा शिक्षक पदम रावत र स्थानीय देवबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छेडेदह गाउँपालिकामा असार ४ गते मनोनयन पत्र दर्ता गर्ने क्रममा दोहोरो झडपमा परी एक जना एमाले कार्यकर्ता ५५ वर्षीय हंसबहादुर रावतको मृत्यु भएको घटनाको छनबिनको लागि नियन्त्रणमा लगेको प्रहरी प्रमुख दलबहादुर बोगटीले बताए । एमाले कार्यकर्ताको मृत्य भएपछि एमालले आज बाजुराको पुरै सडक अवरुद्ध गरेको छ ।
आज बिहानैदेखि साँफे मार्तडी सडकखण्ड अन्तर्गत बाजुरा सदरमुकाम मार्तडी आउने विभिन्न सवारी साधानहरूलाई फालासैनमै रोकेका छन् । मुख्य सडक नै अवरुद्ध भएपछि सदरमुकाम मार्तडी आउने यातायातका साधानहरू बिचबाटोमै अलपत्र परेका छन् ।
एमाले र मृतकका परिवारले घटनाको छानबिन गरी दोषीलाई कारबाही नगर्दासम्म शव नबुझ्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराले भने यस घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक रावतको शव जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा राखिएको छ ।