राजविराज नगरपालिका–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै अमानविय व्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजविराज नगरपालिका–६ मा घर बनाई बस्नु भएका ६२ वर्षीय रामकुमार यादवलाई जेठ ३० गते अदालतले १५ दिनको कैद सजाय गरेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई १५ दिनको कैद सजायका साथै १० हजार रूपियाँ जरिवाना गरेको अदालतले जनाएको छ । अदालतका इजलास अधिकृत कुमार सुबेदीका अनुसार आरोपितबाट क्षतिपूर्ति स्वरूप पीडितले १५ हजार रूपियाँ पाउने फैसला भएको छ ।
आरोपितका तीन छोराहरू ३१ वर्षीय रमेशकुमार यादव, २९ वर्षीय राजेशकुमार यादव, २७ वर्षीय उमेशकुमार यादव, रामकुमारका भाई ५४ वर्षीय रामअधिन यादव र निजकी पत्नी ४४ वर्षीया पञ्चीदेवी यादवले भने अभियोग दावीबाट सफाइ पाएका छन् । आरोपित रामकुमार अवकाशप्राप्त गाविस सचिव तथा गाविस हक हित संरक्षण केन्द्रका पूर्व उपाध्यक्ष हुन् ।
आरोपितहरूले ०७६ कात्तिक ११ गते घर कोठा भित्र प्रवेश गरी कथित बोक्सी भन्दै आफू र छोरीहरूलाई कुटपिट गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १३ गते उजुरी दिनुभएको थियो । प्रहरीले पीडितको उजुरी दर्ता वा दरपिठ नगरेकाले जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले कात्तिक २५ गते मुलुकी फौजदारी कार्यविधि ९संहीता० २०७४ को दफा ५ ९२० बमोजिम पीडितको उजुरी जिल्ला प्रहरी कार्यालय पठाएको थियो । उक्त पत्रसहित पीडित प्रत्यक्षदर्शी छिमेकीहरू, भिडियो रेकर्ड, घाउजाँच प्रतिवेदन लिएर जिल्ला प्रहरी कार्यालय जानु भएको थियो । ‘आफ्नो पति पनि खायो र मेरो पत्नी पनि खायो’ भन्दै आरोपित रामकुमारसहितले घर कोठा भित्र प्रवेश गरी आफू र छोरीहरूलाई कुटपिट गरेको तथा ०७६ कात्तिक १३ गते ‘बोक्सी कता छ रु’ भन्दै घरभित्र प्रवेश गरेर रक्ताम्य हुने गरी कुटपिट गरेको पीडितले बताउनु भयो ।
आरोपित रामकुमारले आफ्नो घरमा रोपिएको सिमी, घिरौँला, लौकाको विरुवाहरू उखेलेको विषयमा विवाद हुँदा दुवै तर्फबाट गालीगलौज र हातपात भएपनि कथित बोक्सी भनेर अमानवीय व्यवहार नगरेको बताउनु भयो । बोटविरुवा उखेलिएको विषयमा दुबै तर्फबाट गालीगलौज, कुटपिट हुँदा दुबै पक्षबाट उजुरी आएको जनाउँदै जिल्ला प्रहरी कार्यालयले कथित बोक्सीको आरोपसहितको उजुरी सत्य नभएकाले दर्ता नगरिएको बताउनु भएको थियो । पीडितले भने ०७६ असोज १७ गते मृत्यु भएकी रामकुमारकी ५७ वर्षीया पत्नी फुलकुमारीलाई ‘बोक्सी’ लगाई हत्या गरेको भन्दै आरोपितहरूले गालीगलौज र कुटपिट गरेको आरोप लगाउनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले उच्च अदालत जनकपुर राजविराजमा परमादेशको रिट दिनुभएको थियो । उच्च अदालतले ०७६ पुस २३ गते गरेको परमादेशको समेत अटेर गरी जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता नगरेपछि पीडितले प्रहरीबाट अदालतको अपहेलना भएको भन्दै ०७६ फागुन ११ गते उजुरी दर्ता गर्नुभएको थियो । सो उजुरी दर्ता पछि जिल्ला प्रहरी कार्यालयले ०७६ फागुन २९ गते कथित बोक्सी भन्दै कुटपिट गर्ने आरोपितहरूमाथि उजुरी दर्ता गरेको अधिवक्ता शंकरकुमार मिश्रले बताउनु भयो । आरोपितहरूलाई गिरफ्तार गर्न नसकेको प्रहरीले जिल्ला अदालतमा ०७७ भदौ १० गते अभियोग पत्र दायर गरेको थियो ।