जिल्लाका ग्रामिण भेगमा सञ्चार सेवा प्रभावकारी नहुँदा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय नागरीकसँगै जनप्रतिनिधिहरुले समेत गुनासो गर्नु भएको छ ।
नेपाल टेलीकमले विस्तार गरेको टेलीफोन तथा इन्टरनेट सेवा प्रभावकारी नभएपछि महत्वपूर्ण कामका लागि सम्पर्क गर्न र सूचना लिनका लागि अग्ला रुख र डाँडामा जानु पर्ने बाध्यता रहेको सायल गाउँपालिका–४ का स्थानीय खेम उपाध्यायले गुनासो गर्नु भयो ।
उहाले भन्नु भयो–‘कुनै बेला त घाम नलागेमा रुखमा चढ्दा वा अग्लो डाँडामा जाँदा समेत नेटवर्कले काम गर्दैन् । सूचना पाउन तथा सूचना प्रवाह गर्न नै सास्ती खेप्नु परेको छ ।’
घाम लाग्दा मात्र नेटवर्क आउने र बादल लागेको दिन नेटवर्क नआउने गरेका कारण यहाँका नागरिकहरुले सूचना पाउने र सूचना प्रवाह गर्न पाउने अधिकारबाट वञ्चित हुनु परेको सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओलीले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘फोन गर्न हामीले घाम कुर्नु पर्छ । यहाँका नागरिकहरुको बाध्यता कसले बुझने ? इन्टरनेट सेवा पनि भरपर्दाे नहुँदा गाउँपालिकाले संस्थागत स्वमूल्याङ्कनका सूचकहरु समेत पुरा गर्न नसकेको अवस्था छ ।’
बिहान सुर्याेदयसँगै नेटवर्क आउने र सुर्यास्त हुँदा नेटवर्क जाने गरेका कारण स्थानीयहरु सुरक्षाका दुष्टिकोणबाट पनि जोखिममा रहनु परेको बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘दूरसञ्चार कम्पनीहरुले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न आग्रह गरिएको छ । तर, हुन सकेको छैन् । गाउँपालिकालाई विद्युतिय सेवा प्रवाह गर्न समस्या नभए पनि इन्टरनेट सेवा प्रभावकारी नभएका कारण स्थानीयले समस्या झेल्नु परेको छ ।’
पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले इन्टरनेट सेवा गुणस्तरीय नभएको कारण विद्यालयमा समेत बालबालिकाहरुको अध्ययपनमा समस्या हुने गरेको गुनासोहरु आउने गरेको बताउनु भयो ।
दुई वर्षसम्म निःशुल्क सेवा दिने भनेर सामुदायिक विद्यालयहरुमा जडान भएको इन्टरनेट सेवा दुई महिना पनि नचलेका कारण विद्यार्थीहरुलाई कम्पियुटर शिक्षा प्रदान गर्न समस्या भएको सामुदायिक बिकास केन्द,्र डोटीका अध्यक्ष हेमराज जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘धेरैजसो विद्यालयमा जडान गरिएको इन्टरनेट सेवा प्रभावकारी छैन् । केही विद्यालयमा विद्युत सेवा नहुँदा थन्काइएको छ । जडान समेत गरिएको छैन् ।’
दूरसञ्चार कम्पनीहरु गुणस्तरीय सेवा प्रदान गर्ने भन्दा पनि सामान बिक्री गर्नका लागि बढी सक्रिय रहेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले बताउनु भयो ।
उहाले भन्नु भयो– नगरपालिका क्षेत्रका २७ ओटा विद्यालयहरुमा इन्टरनेट जडान गर्ने भनेर साग्रिला कम्पनी आयो । जडान गरेर पनि गयो । तर, कुनै पनि विद्यालयमा इन्टरनेट सेवा सुचारु नभएको छैन् ।
उहाँले जिल्ला सदरमुकाम रहेको दिपायल सिलगडी नगरपालिकामा पनि फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको बताउनु भयो ।
दूरसञ्चार कार्यालय, दिपायलका निमित्त प्रमुख इन्द्र कठायतले कार्यालयले लगातार पाँच वर्ष यता मोवाइल फोन नेटवर्क र इन्टरनेट सेवा प्रवाहमा जनताको सहज पुहँच पुगाउनका लागि निरन्तर काम गरिरहेको बताउनु भयो । उहाँले जिल्लाका ग्रामिण भेगहरुमा यस वर्ष मात्रै ६ ओटा फोरजी नेटवर्क टावर र अन्य मोवाइल नेटवर्क टावर गरेर कुल १३ ओटा टावर निर्माण कार्य भइरहेकोले इन्टरनेट सेवालाई गुणस्तरीय बनाउन नेपाल टेलिकम प्रतिबद्ध रहेको बताउनु भयो ।