INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

जनज्योती माविमा कार्यरत शिक्षकद्वय राजपुर गाउँपालिका–३ का २४ वर्षीय श्रवणकुमार यादव र ३० वर्षीय शिवदेव यादवमाथि कुटपिट गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–१ का ३० वर्षीय आनन्द अधिकारीलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।

घटनाका अर्का आरोपित ३५ वर्षीय त्रिलोक कार्की फरार रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

शिक्षकद्वयलाई आरोपितहरूले जेठ २३ गते विद्यालयमा पठनपाठन चलिरहेका बेला गेटको ताला फोडेर भित्र पसी प्रधानाध्यापक केशवराम यादवलाई गालीगलौज गरेको, विद्यालयमा शिक्षक र विद्यार्थी उपस्थिति बोर्ड तोडफोड गरेपछि शिक्षकहरूले तोडफोड गरेको भिडियो खिचेपछि मोवाईल खोसेर लगेको र कुटपिट गरेको  प्रधानाध्यापक केशवराम यादवले जानकारी दिनुभयो ।

प्रअ यादव शैक्षिक तालिमकालागि भैरहवामा रहेको र आफू नभएको बेला शिक्षकहरुमाथि कुटपिट भएको उहाँले बताउनु भयो ।

शिक्षकमाथि दुव्र्यवहार, कुटपिट भएको र असुरक्षा बढेको भन्दै विद्यालयका शिक्षकहरुले जेठ २३ गतेदेखि पठनपाठन बन्द गरेर दोषीमाथि कारबाहीको माग गरेका छन् ।

घटनाका सम्बन्धमा पीडितद्वयले  जेठ २४ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा एक जनालाई गिरफ्तार गरेको र अर्का आरोपित फरार रहेकोले खाज भइरहेको इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर नविन वलीले जानकारी दिनुभयो ।

अन्य

भिडियो