२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका कञ्चनरूप नगरपालिका–५ पिप्रा पूर्वका २२ वर्षीय राजेश सरदारविरुद्धको मुद्दा जेठ २२ गते मुल्तबीमा राख्ने फैसला भएको छ ।
जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले आरोपितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
रातको खानाखाई घर पछाडी ट्युववेलमा भाँडाबर्तन धुन पखाल्न गएका बेला बाटो ढुकी बसेका आरोपितले २०७८ भदौ २८ गते लछारपछार पारी बलात्कार प्रयास गरेको भन्दै पीडितले असोज २० गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिनु भयो । इलाका प्रहरी कार्यालय कञ्चनरुपले ०७८ असोज २० गते उजुरी दर्ता गर्यो ।
पीडितको स्वास्थ्य परीक्षण ०७८ असोज २० गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भएको थियो । आरोपितविरुद्ध ०७८ मङ्सिर २८ गते पक्राउ पुर्जी जारी भएपनि हालसम्म आरोपित फेला परेका छैनन् । जिल्ला अदालतमा ०७९ भदौ २३ गते अभियोजन पत्र दायर भएको थियो ।