१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि थुनामा रहेका ३३ वर्षीय एक बाबुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
छोरी बलात्कार आरोपमा अनुसन्धानका लागि थुनामा रहेका आरोपितले जेठ १७ गते विराटनगर महानगरपालिका-५ स्थित नोवेल अस्पतालको शौचालयमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
शौचका लागि नोवेल अस्पतालको शौचालय गएको अवस्थामा आरोपितले जेठ १७ गते बिहान शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको अवस्थामा आरोपितको लास भेटिएको डिएसपी दाहालले बताउनु भयो । बिहान ५ बजेर २० मिनेट जाँदा शौचालय गएका आरोपित ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेण्डिलमा झुण्डिएको अवस्थामा लास भेटिएको प्रहरीको भनाइ छ ।
मृतकले आफैँले लगाएको हरियो कपडा (गाउन) को पासो लगाएको देखिएको डिएसपी दाहालको भनाइ छ । छोरी बलात्कार गरेको आरोपमा पीडित पक्षले घटना भएकै दिन ०८० जेठ १२ गते आरोपितविरुद्ध प्रहरीमा उजुरी दिएकाे थिए ।
पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मधुमल्लाले आरोपितलाई जेठ १२ गते घरबाटै गिरफ्तार गरेको थियो । गिरफ्तारीमा परेका आरोपितलाई अदालतबाट म्याद थप गर्नलाई जिल्ला सरकारी वकिलको कार्यालय मोरङ ल्याएको समयमा पनि आरोपितले जेठ १४ गते आत्महत्याको प्रयास गरेका थिए ।
आरोपितले जेठ १४ गते दिउँसो २ बजेतिर घाँटी रेटेर आत्महत्याको प्रयास गरेपछि म्याद थप नगरी उपचारका लागि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
सरकारी वकिल कार्यालयको थुनुवा कक्षको शौचालयमा फलामले घाँटी रेटेर आत्महत्या प्रयास गरेका आरोपितलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
कोशीले थप उपचारका लागि जेठ १४ गते नोबेल मेडिकल कलेज शिक्षण अस्पताल रेफर गरेको थियो । नोवेलमा उपचाररत अवस्थामा आरोपितले आत्महत्या गरेका हुन् ।
शवको पोष्टमार्टम कोशी अस्पतालमा जेठ १७ गते गरिएको छ । पीडित पक्षले सोही दिन शव बुझी मिक्लाजुङ्ग गाउँपालिका-६ स्थित बक्राहा खोलामा सद्गत गरेको छ ।