INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपाले महोत्तरीमा सरकारी मोटरसाइकल र निर्वाचन कार्यालयको बोर्डमा आगजनी

नवलपरासी घटनाको विरोधमा असार ४ गते मधेस थरुहट बन्दका क्रममा महोत्तरीको पिपरा गाँउपालिकामा बा १ ब ३८२ नम्बरको सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ भने सोही ठाउँ स्थित निर्वाचन कार्यालयको बोर्ड झिकेर राजपा कार्यकर्ताहरूले जलाएका छन् ।

Photo20170618Mahottari

जलेश्वरस्थित सहयोगी विकास बैङ्कको गेट बाहिर रहेको सुझाव पेटिका र सूचना पार्टी तोडफोड गरिएको छ ।

पिपरा चोकमा सो सरकारी नम्बर प्लेटको मोटरसाइकललाई आन्दोलनकारीहरूले रोक्न खोज्दा नरोकेपछि शिवचोकमा आन्दोलनकारीको अर्को समूहले रोकेर मोटरसाइकलमा आगजनी गरेको बताइएको छ । मोटरसाइकलमा आगजनी गरेपछि राजपाका कार्यकर्ताहरूले पिपरा गाँउपालिकाको कार्यालयमै झुण्ड्याइएको निर्वाचन कार्यालयको बोर्ड झिकेर जलाएका छन् ।

बिहानैदेखि प्रदर्शन गरिरहेका राजपा कार्यकर्ताहरूले सदरमुकाम जलेश्वर तथा जिल्लाका मुख्य बजार र चोकहरूमा टायर बालेर नवलपरासी घटनाको विरोध गरिरहेका छन् ।

सदरमुकाम जलेश्वर मै रहेको सहयोगी विकास बैङ्कले बन्दको समयमा पनि खोलेको आरोपमा गेट बाहिरबाट राजपा कार्यकर्ताहरूले तोडफोड गरेका थिए । भित्रबाट ताल्चा लगाएर राखिएकोले बढी क्षति नभएको बैङ्कका प्रवन्धक सञ्जयकुमार पण्डितले बताए ।

अन्य

भिडियो