INSEC Online

📅 २०८३ जेष्ठ २१

लघुवित्त विरूद्धको आन्दोलनमा झडप, चार जना घाइते

जीवन विकास लघुवित्त वित्तीय संस्थाको विषयलाई लिएर भएको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् ।

Photo 20230522 Udayapur (1)

गाइघाटस्थित जीवन विकास समाजको कार्यालय अघि जेठ ७ गते प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा त्रियुगा नगरपालिका–७ चुहाडेका ३७ वर्षीय धनबहादुर मोते, त्रियुगा नगरपालिका–६ जलजलेकी २७ वर्षीया रूषा राई, बेलका नगरपालिका–३ का ३६ वर्षीय जयकुमार माझी र मोरङ वेलवारी नगरपालिका–७ की ४४ वर्षीया ललितादेवी खवास घाइते भएका हुन् ।

जेठ ७ गते शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा प्रहरीले अश्रुग्याँस र लाठी चार्ज गर्दा मोतेको टाउकोमा चोट लागेको र  खवासको हात भाँचिएको पीडित पक्षले जनाएको छ ।

राईको शरीरको विभिन्न भागमा चोट लागेको आन्दोलनकारी लघुवित्त सङ्घर्ष समिति केन्द्रीय उपाध्यक्ष सुशीला थापाले बताउनु भयो । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइ राखेको छ ।

जेठ ७ गतेको झडपपछि जेठ ८ गते विहानैदेखि गाइघाटस्थित जीवन विकास समाजको कार्यालयअघि प्रदर्शनकारीले आन्दोलनलाई चर्र्काएका छन् ।

सङ्घर्ष समितिको माग समेटिएको ज्ञापनपत्र बुझाउन जाँदा संस्थाका कर्मचारी विकास साहले च्यातेर फोहोर फाल्ने टोकरीमा फाल्दै गलहत्याएर निकाल्ने अपमानजनक धम्की दिएपछि विवाद भएको थियो ।

कर्मचारीले माफी माग्नुपर्ने माग राखेकोमा शाखा प्रवन्धक विकास साहले थप अपमानजनक भाषा प्रयोग गर्दै गाली बेइज्जत गरी प्रहरी बोलाएर कार्यालय पस्न नदिएपछि आन्दोलन चर्किएको सङ्घर्ष समितिकी उपाध्यक्ष सुशीला थापाले बताउनु भयो ।

स्थानीय सेवाग्राहीलाई बेवास्ता गरेपछि आन्दोलनमा सहयोग गर्न भन्दै मोरङ, सुुनसरी र सप्तरीका लघुवित्त समूहमा आबद्ध ५ सय बढी महिला तथा पुरूष गरी बस रिजर्भ गरेर गाईघाट आएका छन् ।

जेठ ७ गते वर्षा हुँदासमेत नाराबाजी भइरहे पनि शान्तिपूर्ण रहेको आन्दोलन साँझमा एकाएक खल्बलिएको सङ्घर्ष समिति उदयपुरका अध्यक्ष मनोज पौडेलले बताउनु भयो ।

आफुहरू शान्तिपूर्ण आन्दोलन गरिरहेकै बेला एक्कासी कार्यालय भवनको माथिल्लो तलाबाट पानीको बोतलले हिर्काएपछि त्यसो नगर्न आग्रह गर्दा सशस्त्र प्रहरीले एक्कासी लाठी प्रहार र धरपकड गरेको पीडित पक्षको आरोप छ ।

प्रहरीले जथाभावी लाठी प्रहार गर्दा चिया खाँदै गरेकी कवाडी सङ्कलक सुनया खातुनको हातमा पनि चोट लागेको छ । खातुनले आफु लघुवित्तमा सरोकारै नभएको मान्छे चिया खान आउँदा प्रहरीले कुटेको गरेको आरोप लगाउनु भएको छ ।

त्रियुगा नगरपालिका–११ का वडाध्यक्ष सुमन्त कोइरालाले आन्दोलनकारी र लघुवित्तका कर्मचारीलाई सँगै राखेर वार्ता गराउने प्रयास भइरहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्र फुयालले दिनभर शान्तिपूर्ण रहेको आन्दोलन एकाएक साँझमा प्रहरीमाथि ढुङ्गा प्रहार भएपछि स्थिति सामान्य बनाउन सामान्य लाठी प्रहार गरेको र त्यसबाट पनि साम्य नभएपछि चार राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको बताउनु भएको छ ।

Photo 20230522 Udayapur (2)

Photo 20230522 Udayapur 3

अन्य

भिडियो