‘हाम्रो बर्दिया बचाऔँः समुन्नत बर्दिया बनाऔँ’ भन्ने अभियानअन्तर्गत पन्ध्र बुँदे मागहरू राखी विगत सात दिनदेखि बर्दियामा आमरण अनसनमा बसेका बर्दिया क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमको स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय, नेपालगञ्जले अनशनको स्थलगत अनुगमन गरेको ०८० जेठ ५ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
गौतमको शरीरमा पानीको मात्रा कम भई पिसाबमा समस्या देखिएको, उच्च रक्तचापको बिरामी भएको हुँदा जुनसुकै समयमा गम्भीर समस्या निम्तिन सक्ने अवस्था रहेको आयोगले जनाएको छ ।
अनसनको सातौँ दिनसम्म पनि सरकारी निकायबाट अनसन तोड्न कुनै पहल नभएको र अनसनस्थल सडक एवम् स्वास्थ्य सुविधाबाट टाढा रहेकाले आकस्मिक समस्या सिर्जना भैहालेमा जीवन नै जोखिममा पर्नसक्ने अवस्था रहेको भनी आयोगको अनुगमन टोलीलाई जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
विकास र समृद्धिसँग मानव अधिकारको प्रत्यक्ष र परोक्ष रुपमा सम्बन्ध रहेको आयोगले स्मरण गरेको छ । बबई सिंचाई आयोजना, राजापुर सिंचाई परियोजना, मध्येवर्ती क्षेत्रका नागरिकको जीउधनको सुरक्षा, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान, कृषकद्वारा उत्पादित उपजको बजार व्यवस्थापन जस्ता सांसद गौतमले उठाएका मागहरू मानव अधिकारसँगै सम्बन्धित रहेका विज्ञप्तिमा उल्लेख छ ।
विकास प्रक्रियामा देखा परेका समस्याहरूको समाधान सहभागितामूलक प्रक्रियाबाट गरिनु राज्यका निकायहरूको कर्तव्य हुने आयोगले जनाएको छ ।
अतः सांसद गौतमले उठाएका उचित मागहरूको सार्थक वार्ता र संवादको माध्यमबाट सम्बोधन गरी आमनागरिकको विकासको अधिकारकोे सुनिश्चितता गर्न र अनसनरत गौतमको स्वास्थ्यप्रति संवेदनशील भई निजको जीवनको रक्षा गर्न नेपाल सरकारलाई आग्रह गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।