धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज गरेको आरोपमा पत्रकारहरूले जेठ १ गते मौन जुलुस प्रदर्शन गरेका छन् ।

पत्रकार तथा सञ्चार संस्थाप्रति मेयर राईले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले पत्रकारहरू असुरक्षित भएकाले जनप्रतिनिधिविरूद्ध मौन जुलुस प्रदर्शन गर्नु परेको पत्रकार महासङ्घ सुनसरी शाखा अध्यक्ष जनकऋषि राईले बताउनु भयो ।
प्रेस स्वतन्त्रतालाई सम्मान गर, तिमी शासक कि जनप्रतिनिधि, स्वतन्त्रपूर्वक बोल्न र लेख्न देऊ, प्रेस स्वतन्त्रताका रक्षा गर लगायतको प्लेकार्डसहित पत्रकारहरूले मौन जुलुस प्रदर्शन गरेका हुन् ।
मेयर राई पत्रकार तथा सञ्चार संस्थाप्रतिको अभिव्यक्तिको विरोध स्वरूप नगरपालिकाको गेटमा पत्रकारहरूले मुख थुनेर विरोध जनाएका छन् ।
यसअघि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले ०८० वैशाख २९ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीसमक्ष सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ज्ञापनपत्र बुझाएको थियो ।
जेठ २ गते धरान उपमहानगरपालिकाका पूर्व प्रमुखहरूसँग अन्तरक्रिया गरी पहिलो चारणको आन्दोलन सकिने महासङ्घका अध्यक्ष जनकऋषि राईको भनाई छ ।
मेयर राईले भने पत्रकारहरूले आफूले गरेका असल कामलाई प्रोत्साहन नगरी गलत कुरालाई मात्र प्राथमिकता दिँदै आएको बताउनु भएको छ ।
पत्रकार मानव अधिकार रक्षकसमेत भएकाले मानव अधिकार रक्षकको पहिचानलार्ई सङ्कुचनमा पार्ने काम जनप्रतिनिधिबाट भएकाले बाध्य भएर आन्दोलन गर्नु परेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले बताउनु भयो ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणपत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।