INSEC Online

📅 २०८३ जेष्ठ २२

आचारसंहिता पालना गर्न दलहरूलाई आयोगको आग्रह

निर्वाचन आचारसंहिता पालना गर्न क्षेत्रीय निर्वाचन कार्यालय मोरङले दलहरूलाई आग्रह गरेको छ । विराटनगरमा असार १ गते दलहरूसँगको सर्वदलीय बैठकमा आयोगले पार्टीको चुनाव चिन्ह अङ्कित भेष्ट, टोपीलगायतको तुल टाँगेको, पोष्टर टाँसेकोलगायतका उजुरी परेको भन्दै आचारसंहिता पालना गर्न आग्रह गरेको हो ।

दोस्रो चरणको स्थानीय निकाय निर्वाचन नजिकिँदै जाँदा मोरङमा बढ्दो आचारसंहिता उल्लङ्घनप्रति निर्वाचन आयोगले चिन्ता व्यक्त गर्दै दलहरूलाई सचेतसमेत गराइएको जनाइएको छ ।

मोरङका मुख्य निर्वाचन अधिकृत र राजनीतिक दलका प्रतिनिधिसहित आयोजना गरिएको सर्वदलीय बैठकमा दलहरूलाई सचेत गराइएको हो ।

यसरी टाँगिएका तुल, पम्प्लेट हटाउन आग्रह गर्दै क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले प्रहरी लगाएर हटाउनुपरे आचारसंहिता उल्लङ्घन भएको भन्दै कारबाही गरिने चेतावनी दिए ।

उनले ऐन र निर्वाचन आचारसंहिता विपरीत दलहरू गएमा दलबाट उम्मेदवार बनेकाको उम्मेदवारी खारेज, १ लाख रुपियाँसम्म जरिबाना गरिने चेतावनी दिएका छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले दलहरूले आचारसंहिता उल्लङ्घन नगरिकन अगाडि बढेमा त्यसले सकारात्मक सन्देश दिने बताए ।

अन्य

भिडियो