INSEC Online

📅 २०८३ जेष्ठ २२

यार्सागुम्बा सङ्कलनका लागि विद्यालय बन्द, बालबालिकाको जिवन जोखिममा

इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराज सिंहका अनुसार जिल्लाको उत्तरी भेगका विद्यालय जेठ १ गतेदेखि एक महिनासम्मका लागि बन्द गरिएको छ ।

अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जानेभएपछि उत्तरी भेगका काँडा मावि, धलौन माविलगायतका विद्यालय बन्द गरिएका हुन् । अधिकांश विद्यार्थी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर हिँडेपछि विद्यालय बन्द गर्नुपरेको धलौन माविका सहायक प्रधानाध्यापक झलक धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् । बन्द गरिएका विद्यालयका विद्यार्थी वेशी झरेपछि असार १ गतेदेखि मात्रै विद्यालय सञ्चालन गरिने छ ।’

उत्तरी भेगमा पर्ने काँडा गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, तल्कोट गाउँपालिका, दुर्गाथली गाउँपालिका, मष्टा गाउँपालिका र बुंगल नगरपालिका अन्तर्गत पर्ने अधिकांश विद्यालय यतिखेर विद्यार्थीहरु यार्सागुम्बा संङ्कलनमा गएपछि बन्द गरिएको छ ।

उत्तरी भेगमा अवस्थित दुरदराजका ती विद्यालय वर्षेनी तीन महिना बन्द हुने गरेपनि यो वर्ष भने गाउँपालिकाले निर्णय गरेर हिउँदे विदाको सट्टामा १ महिना विदा दिइएको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘वैशाख १५ गतेसम्म विद्यालयमा भर्ना भइ यार्सागुम्बा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।’

आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् । अघिल्ला वर्षहरुमा विद्यार्थीहरू तीन महिना विद्यालय उपस्थित नभएपछि पाठ्यक्रमको पढाइ अधुरो रहने भएकाले विद्यार्थीले परीक्षामा कम अङ्क ल्याउने गरेका शिक्षकहरू बताउँछन् ।

यस भेगमा १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जाने गर्दछन् । ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सा गुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिने गरेको साइपाल गाउँपालिकाका स्थानीय दिपक बोहराले बताउनु भयो ।

जिल्लाको साइपाल गाउँपालिकामा यार्सा संकलनकर्ताबाट ७ लाख ९ हजार रुपियाँ राजस्व संकलन भएको छ । यहि वैशाख १० गतेबाट यार्सागुम्बा सङ्कलनका लागि वन खुल्ला गरेपछि जेठ १ गतेसम्म ७ सय ५२ जना साइपाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनका लागि पाटन प्रवेश गरेको साइपाल गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अपिहिमाल गाउँपालिकामा यार्सागुम्बा संकलनको लागि भन्दै वैशाख १६ गतेदेखि विद्यालयमा विदा दिइएको छ ।

विद्यार्थी शिक्षक नै यार्सागुम्बा संकलनमा जाने भएपछि विद्यालय विदा दिइएको हो ।  गाउँपालिकाभरीका सबै विद्यालय यार्सागुम्बा संकलनको लागि भन्दै बन्द रहेको सरस्वती आधारभूत विद्यालय मरखोलाका प्रधानाध्यापक गोबर्धनसिंह धामीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो– ‘विद्यालय चाडो बन्द भए । तर, यो पटक यार्सागुम्बा सिजन ढिला भएको छ । मौसममा आएको परिवर्तनका कारण यस पटक यार्सागुम्बा संकलन भने हुन पाएको छैन् ।’

अहिलेलाई लामो बिदाबाट कटौती गर्ने गरी विद्यालय विदा दिइएको हो । गाउँपालिकाभरी २४ ओटा विद्यालय रहेका छन् । विद्यालय बन्द हुँदा झण्डै २ हजार विद्यार्थीको पढाई प्रभावित बनेको छ ।

यार्सागुम्बामा निर्भर रहेका यस क्षेत्रका अभिभावकले बालबालिकालाई आफूसँगै यार्सागुम्बा संकलनको लागि लैजाने हुँदा विद्यालय बन्द गर्नुपरेको धामीले बताउनु भयो । अभिभावककै सहमतिमा विद्यालय बन्द हुने गर्छन् । अभिभावक भन्दा पनि बालबालिकाले बढी यार्सागुम्बा भेट्टाउने गर्छन् ।

एक महिना यार्सागुम्बा संकलन गरेर विद्यार्थीले आफूलाई वर्षभरि पढ्न र घर खर्च चलाउने गरेका छन् । एक सिजनबाट वर्षभरीको खर्च धान्नु पर्ने भएकाले विद्यालय बन्द गरेर भएपनि शिक्षक विद्यार्थी यार्सा सङ्कलन गर्न जाने गरेको अपिहिमालस्थित खण्डेश्वरी माविका प्रधानाध्यापक खडक लोथ्यालले बताउनु भयो ।

हिमाली क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैनन् । यहाँका नागरिकको मुख्य रोजीरोटी भनेकै यार्सागुम्बा टिप्ने र त्योबाट शिक्षा तथा खाद्यान्न जोहो गर्नु हो ।

विद्यालय सञ्चालन गरेपनि विद्यार्थी नआउने भएकाले पछि बिदा मिलाउने गरेर विद्यालय बन्द गर्ने निर्णय गरिएको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले बताउनु भयो ।

विगतमा अपि नाम्पा संरक्षण क्षेत्रले यार्सागुम्बा संकलनका लागि परिचय–पत्र अनिवार्य गरेको थियो । पछिल्लो केही वर्ष यता परिषद् नेतृत्वविहीन हुनु र राजस्व संकलनलगायत विषयमा स्थानीय तहसँग विवाद देखिएकाले परिचय–पत्र तथा अनुमति–पत्रबिनै यार्सागुम्बा संकलन हुने गरेको छ ।

यार्सागुम्बा संकलनका लागि बालबालिकाहरुलाई अनुमति दिन नसकिने व्यवस्था भए पनि ज्यान जोखिममा राखेर अभिभावकहरुले आफूसँगे लैजाने गरेको पाइएको छ ।

यार्सागुम्बा संकलनको सिजन सुरुलगत्तै जिल्लामा दुई जना बालबालिकाले हिउँ पहिरोमा ज्यान गुमाएका छन् । व्याँस गाउँपालिका–१ भोलुममा आएको हिउँ पहिरोमा परी दुहुँ गाउँपालिका–४ का १८ वर्षीय प्रवीण कुँवर र डोटी जिल्लाको जोरायल गाउँपालिका–२ का १५ वर्षीया छिमी सोमा थापाले ज्यान गुमाएका हुन् ।

विद्यालयको पढाई सकाएर आमा बुवासँगै यार्सागुम्बा संकलनमा गएका उनीहरुले हिम पहिरोमा परी ज्यान गुमाएका हुन् । आर्थिक अवस्था नाजुक रहेका प्रवीणले एसइई परीक्षा सकाएर आमासँग गएका थिए । घरमा कमाउने कोही नभएपछि आमाकोपछि लागेर उनी यार्सागुम्बा संकलनमा गएका हुन् ।

आफ्नो भविष्यको उज्यालो खोज्न ज्यान जोखिममा राखेर बालबालिकाहरु यार्सागुम्बा खोज्न लेक जाने गरेको अपिहिमाल गाउँपालिका वडा नम्बर १ का वडासचिव अगबरसिह जागरीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हाम्रोतिर सबै बालबालिका नै यार्सागुम्बा संकलनमा जाने गर्छन् ।’ यार्सागुम्बा सिजनमा संकलन गर्न नजाने हो भने कसरी पढाई गर्छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण पनि अभिभावकले बालबालिकालाई आफूसँगै यार्सागुम्बा संकलनमा लिने गर्छन् ।’

प्रमुख जिल्ला अधिकारी किरण जोशीले कानुनले बन्देज गरेको अवस्थामा बालबालिकालाई यार्सागुम्बा संकलन कार्यमा लगाउनु अभिभावकको कमजोरी भएको बताउनु भयो ।

उहाँले कानुन कार्यान्वयनमा सबैको सहयोग अपरिहार्य रहेको र गरिबीकै कारण कानुन विपरित कार्यमा बालबालिकाको प्रयोग हुने गरेको बताउनु भयो ।

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हक उल्लेख गरिएको छ । संविधानको धाराको ३ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी, वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन् भनेर उल्लेख छ । तर, जिल्लामा लेकहरुमा भने तिनै बालबालिका विद्यालय बन्द गरेर भएपनि यार्सागुम्बा खोज्न पठाइने गरिएको छ ।

photo20230515darchula (1)

photo20230515darchula (2)

अन्य

भिडियो