मालिकार्जुन गाउँपालिकाले शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यार्थी सङ्ख्या कम रहेका गाउँपालिका भित्रका सात ओटा आधारभूत विद्यालय गाउँपालिकाले समायोजन गरेको छ ।
विद्यार्थी सङ्ख्या कम रहेका शान्ति निकेतन आधारभूत विद्यालय कालामाटा, रानिशिखर आधारभूत विद्यालय गोठ्युडी, भूमिराज आधारभूत विद्यालय च्यूरानी, मालिकार्जुन आधारभूत विद्यालय कुचाकोट, केदारनाथ आधारभूत विद्यालय श्रीपुर, उदयदेव आधारभूत विद्यालय खेतार र भगवती आधारभूत विद्यालय सञ्चोरीलाई समायोजन गरेको हो ।
शिशु कक्षादेखि ३ कक्षासम्म सञ्चालनमा रहेका यी विद्यालयहरुमा विद्यार्थी सङ्ख्या न्यून थियो । मालिकार्जुन गाउँपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका अनुसार शान्ति निकेतन आधारभूत विद्यालयमा १५ जना, रानिशिखर आधारभूत विद्यालयमा १० जना, भूमिराज आधारभूत विद्यालय च्यूरानीमा ११ जना,, मालिकार्जुन आधारभूत विद्यालय कुचाकोटमा ११ जना, केदारनाथ आधारभूत विद्यालय श्रीपुरमा ११ जना, उदयदेव आधारभूत विद्यालय खेतारमा १० जना र भगवती आधारभूत विद्यालय सञ्चोरीमा १७ जना विद्यार्थी थिए ।
गाउँमा विद्यार्थी पाउनै छाड्यो, एकातिर शिक्षक मात्रै हुने तर विद्यार्थी नहुने अवस्था आएपछि विद्यालय समायोजन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकेन्द्रसिह धामीले बताउनु भयो । समायोजन गरिएका विद्यालयमा शिशु कक्षा मात्रै यथावत राखिएको छ ।
यसैगरी गाउँपालिकाले १५ ओटा विद्यालयको कक्षा समायोजन गरेको छ । जसअनुसार डुङरी आधारभूत विद्यालय डुङरी, दुर्गेश्वरी आधारभूत विद्यालय रेबली, बसन्तपुर आधारभूत विद्यालय न्वालपानी, राष्ट्रिय मावि ठिङ, युवावर्ष आधारभूत विद्यालय खुना, बानेश्वर आधारभूत विद्यालय गाडखोला, देवपुर आधारभूत विद्यालय खालिडाँडा, जनज्योति आधारभूत विद्यालय देवधुरा, हुनैनाथ आधारभूत विद्यालय बेलुकोट, लटिनाथ आधारभूत विद्यालय लिमाको कक्षा समायोजन गरिएको छ ।
यसैगरी गाउँपालिकाले सुनशिखर आधारभूत विद्यालय, घोडेढुङ्गा, मालिकार्जुन आधारभूत विद्यालय लास, बालकल्याण आधारभूत विद्यालय थकतोली, लटिनाथ आधारभूत विद्यालय खोलिचौरा, शोमनाथ आधारभूत विद्यालय चस्कोट, र दीपज्योती आधारभूत विद्यालय रञ्चनीको कक्षा समायोजन गरेको हो ।
विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा लगेर समायोजन गरिएको धामीले बताए । गाउँपालिकाभरी ४४ विद्यालयमा कुल ३ हजार ५ सय १० जना विद्यार्थी अध्ययनरत थिए । एकातिर शिक्षाको गुणस्तर खस्किदै जानु र विद्यार्थी पलायन रोक्न पनि समायोजन र दरबन्दी मिलान आवश्यक बोध भएको थियो । विद्यालयको शैक्षिक नतीजा निकै कमजोर भयो, उहाँले भन्नु भयो, यस्तो अवस्थामा शिक्षा सुधारको लागि विद्यालय समायोजन, कक्षा समायोजन गर्नुको विकल्प थिएन् ।
गाउँपालिकाले लामो समयदेखि रोकिएर रहेको शिक्षक दरबन्दी मिलान गरेको छ । शिक्षामा सुधार गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले शिक्षक दरबन्दी मिलानको कार्य सकेको हो ।
गाउँपालिकाभरी रहेका कुल स्थायी शिक्षक १ सय ४४ जना, राहत ४६ जना र गाउँपालिका शिक्षक ५८ जना रहेका छन् । जसमा स्थायी र राहत गरी १ सय ९० जना शिक्षकको दरबन्दी मिलान कार्य सकिएको धामीले जानकारी दिनु भयो ।
शिक्षक दरबन्दी मिलान गर्दा विद्यार्थी अनुपात, भौगोलिक नक्साङ्कनलाई प्राथमिकता दिइएको छ । कुनै विद्यालयमा शिक्षक बढी विद्यार्थी कम, कोही विद्यालयमा विद्यार्थी बढी शिक्षक कम हुने अवस्थाको अन्त्य गरिएको धामीको भनाइ छ ।
गाउँपालिकाले वर्षमा झण्डै ३ करोड रुपियाँ शिक्षक कर्मचारीमा खर्च गर्दै आइरहेकोमा समायोजनपछि खर्च व्यवस्थापन हुने अपेक्षा गाउँपालिकाले गरेको छ । ‘शिक्षाको गुणस्तर उकास्न तथा गाउँपालिकामै विद्यार्थी टिकाउन पनि विद्यालय समायोजन, शिक्षक दरबन्दी आवश्यक थियो,’ गाउँपालिका अध्यक्ष हिरासिह धामीले भन्नु भयो, ‘अहिले कसले के भन्यो भन्दा पनि भोलिको लागि सही कि बेठीक भन्ने निष्कर्षमा पुगेर समायोजन र दरबन्दी मिलान गरिएको हो ।’
गाउँपालिकाले प्रति शिक्षक २० जना विद्यार्थी पुग्ने गरी दरबन्दी मिलानको काम गरेको छ । शिक्षक विद्यार्थी अनुपात राष्ट्रिय मापदण्ड २५ जना रहेको छ । गाउँपालिकाले प्रस्तावित रुपमा सञ्चालन हुँदै आएको विद्यालयलाई एकतह माथिको स्वीकृत प्रदानगर्दै विषयगत शिक्षक दरबन्दी व्यवस्था गरेको जनाएको छ ।
विद्यालयमा विद्यार्थी आकर्षण बढाउन कक्षा १ देखि अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्ने विद्यालयलाई पालिकाले बार्षिक १ लाख रुपियाँ थप अनुदान सहयोग गर्ने भएको छ ।
गाउँपालिकाले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार गरिएको जनाएको छ । जिल्लामा विद्यालय समायोजन, कक्षा मिलान, तथा शिक्षक सरुवा गर्ने मालिकार्जुन गाउँपालिका पहिलो भएको छ ।
शिक्षामा सुधार ल्याउने नीति अनुरुप गाउँपालिकाले लामो गृहकार्य गरेर समायोजन र दरबन्दी मिलानको काम सकेको हो । गाउँपालिकाले बस्तीस्तरमै गएर विद्यालयको भौगोलिक अवस्था, सबै विद्यालयका विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, गाउँपालिकामा बृहत अन्तरक्रिया, राजनीतिक दल, शिक्षक संघ संगठनको सहमति गराएको थियो ।
