INSEC Online

📅 २०८३ जेष्ठ २१

नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय बस्तु तथा सेवा उपभोगमा समस्या

नियमित बजार अनुगमन नहुँदा गुणस्तरीय बस्तु तथा सेवा उपभोगमा समस्या पर्ने गरेको छ ।

तानसेन नगरपालिकासहित अन्य स्थानीय तहहरूमा रहेका बजारहरूमा  नियमित बजार अनुगमन नहुँदा गुणस्तरिय बस्तु र सेवा उपभोगमा समस्या रहेको उपभोक्ताहरूको गुनासो छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले गर्दै आएको अनुगमन अहिले स्थानीय तहहरूले गर्नुपर्ने व्यवस्था छ  । पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिकाहरूले बजार अनुगमन कार्यविधि बनाएका छन् । तर बजार अनुगमन भने नियमित हुन सकेको छैन ।

बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बजार अनुगमन कार्यविधि २०७४ निर्माण भएको भएपनि बजार अनुगमन नियमित हुन नसकेको बताउनु भयो ।

चाडपर्वको समयमा र जनताहरूले ध्यानाकर्षण गराएको समयमा अनुगमन गर्ने गरिएपनि अनुगमन कर्मचारीको छुट्टै व्यवस्था नहुँदा नियमित अनुगमनमा समस्या रहेको उहाँले बताउनु भयो ।

जिल्लाका बजार, होटल, मेडिकल, अस्पतालको अनुगमन कार्य चाडपर्वको समयमा मात्र हुने गरेको छ । नियमित बजार अनुगमन नहुँदा जिल्लाका सर्वसाधारण महङ्गो मूल्यमा सामान किन्न बाध्य भएका छन् । पसलमा बिक्रीका लागि राखिएका एकै प्रकारको सामानको मुल्यसमेत पसल र ग्राहक पिच्छे फरक हुने गरेको मानव अधिकार रक्षक सञ्जाल पाल्पाका संयोजक भगवान भण्डारीले बताउनु भयो ।

बजार अनुगमन गर्ने, व्यवसायीलाई करको दायरामा ल्याउने, सफा स्वच्छ उपभोग्य वस्तुको विक्री गर्न प्रोत्साहित गर्ने, मापदण्ड विपरित कार्य गर्ने व्यवसायीलाई कानुनी कारबाही गराउने जिम्मेवारी स्थानीय तहमा गए पछि प्रभावकारी हुनुपर्ने भएपनि उक्त कार्यहरू ठप्प भएको संयोजक भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो