विगत सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका रुकुमपश्चिमका द्वन्द्वपीडितहरूले अझैसम्म पनि न्याय नपाउँदा पीडा बल्झिरहेको दुःखेसो गरेका छन् ।
बाँफिकोट गाउँपालिका–२ की ६८ वर्षीया मंगली खत्रीले आफ्नो आँखै अघि जेठो छोरा मारिएको घटना सम्झँदै त्यसरी छोरा मार्नेलाई कारवाही नभएको र आफूहरूले अहिलेसम्मपनिन्यायनपाएको गुनासो गर्नुभयो । त्यतिबेलागाउँकाआफूजस्ता धेरैजनाआमाको काख रित्तिएको र धेरैजना घाइते भएको भन्दै उहाँले अहिले सरकारले वास्ता नगरेको बताउनुभयो । आफूहरु त्यति बेला वन जंगलमै रातदिन बिताएर दुःख कष्ट भोगेर अहिलेको परिवर्तन आएपनि नेताहरुले आफूहरुलाई वास्ता नगर्दा थप पीडा हुने गरेको खत्रीले दुःखेसो गर्नुभयो । एकातिर आफनो छोरा गुमाएको पीडा र अर्कोतिर त्यहि पीडाका कारण मानसिक समस्या बढ्दै गैरहेको उहाँको भनाई छ ।
त्यस्तै गरी मुसिकोट नगरपालिका –७ साँखकी द्वन्द्वपीडित एकल महिला दुर्गा रावलले २१ वर्ष अघि आफ्नो पति कामको सिलसिलामा महत गाउँ गएको बेला तत्कालीन राज्य पक्षबाट उतै मारिदिएको घटना सम्झिँदै पीडकलाई कारवाही नहुन्जेल चित्त नबुझ्ने बताउनुभयो । ‘न्यायपाएको भए पीडा विर्साउने बाटो हुन्थ्यो ।’उहाँले भन्नु भयो,‘दिनरात पतिकै सम्झना गर्दा पीडा हुने गर्दछ ।’आफ्ना पति परिवारका सदस्यहरू मारिएपछि परिवारको सबै बोझ आफैँले बहन गर्नुपरेको पीडित महिलाहरूको भनाई छ । छोराछोरी हुर्काउने, पढाउने र सम्पूर्ण घर व्यवहार आफ्नो थाप्लोमा आउँदा निकै गाह्रो भएको रावलले जानकारी दिनुभयो ।
द्वन्द्वकै समयमा तत्कालीन विद्रोही पक्षबाट आफ्नो २० तोला सुन सहित थुप्रै सम्पत्ति लुटिएको घटना सम्झँदै मुसिकोट नगरपालिका –५ की प्रेमकुमारी बुढाले त्यसको क्षतिपूर्ति अहिले सम्म नपाएको गुनासो गर्नुभयो । स्थानीय शान्ति समितिमा त्यसको विवरण टिपाएपनि केही नपाउँदा धेरै नै पीडा महशुस हुने गरेको उहाँको भनाई छ ।
मुसिकोट नगरपालिका –२ का गोविन्द विकले ०५८ साल फागुन १२ गते शिक्षा दिवस मनाउन खलंगा बजार आएका आफ्ना दाजु नरविर विक अहिलेसम्म घर नफर्किएको घटना सम्झिनुभयो । तत्कालीन सेनाले आफ्ना दाजुलाई बेपत्ता पारेको र अहिले सम्म न्याय नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । चौरजहारी नगरपालिका– ११ का गोपाल प्रसाद शर्माले तत्कालीन विद्रोही माओवादीले आँखामा तेजाव राखेर यातना दिएपछि आफ्नो जीवन नै अन्धकार बनेकोले राज्यबाट कुनै सुविधा नपाएको र पीडकलाई कारवाही समेत नहुँदा निरास बनेको बताउनुभयो ।
जिल्लामा द्वन्द्वपीडितहरूले आफ्ना थुप्रै गुनासाहरू गर्ने गरेपनि राज्यले ती समस्यालाई सम्बोधन नगर्दा उनीहरु निरास भएर मानसिक रुपले समेत समस्या देखिने गरेको छ । खासगरी द्वन्द्वको समयमा यौन शोषणमा परेका महिलाहरूमाथि मनोवैज्ञानिक असर परेको र पारिवारिक बेमेल समेत देखिने गरेको द्वन्द्वपीडितको क्षेत्रमा क्रियाशिल संस्था ओरेक नेपालका जिल्ला संयोजक दीपा धितालले बताउनुभयो ।
द्वन्द्वपीडितका समस्याको दीगो समाधानका लागि केन्द्रस्तरबाट नै पहलहुनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतमले बताउनुभयो । यद्यपि स्थानीय सरकारहरुले पनि द्वन्द्वपीडितको सम्मानकालागि सानोतिनो प्रयास भने गर्ने गरेको उहाँले दावी गर्नुभयो ।