INSEC Online

📅 २०८३ जेष्ठ २१

पाल्पामा क्षयरोग सङ्क्रमण दर न्यूनीकरण हुन सकेन

पाल्पा जिल्लामा क्षयरोगको सङ्क्रमण दर घट्न सकेको छैन् । पाल्पामा क्षयरोगका कारण पछिल्लो ६ महिनामा १५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा २० जनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पछिल्लो ६ महिनाको तथ्याङ्क हेर्दा जिल्लामा क्षयरोगको मृत्युदर सात प्रतिशत रहेको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले क्षयरोग सम्बन्धी राष्ट्रिय कार्यक्रमले निको हुने दर ९० प्रतिशत हुनुपर्छ भनेको भएपनि पाल्पा जिल्लाको निको हुने दर भने ८९ प्रतिशत मात्रै  रहेको बताउनु भयो ।

गिरीका अनुसार पछिल्लो ६ महिनालाई हेर्ने हो भने निका हुने दर ८५ प्रतिशत मात्रै हुन्छ ।  “जिल्लामा सङ्क्रमण दर र मृत्यु दर दबै बढी छ ।” प्रमुख गिरीले भन्नुभयो ।

क्षयरोगको सुरूकै अवस्थामा पत्ता लगाउन नसकिएको र रोगले ग्रस्त बनाएपछि स्वास्थ्य संस्था आउने प्रचलनले मृत्युदर बढेको गिरीको भनाई छ ।

पछिल्लो १० वर्षदेखि एउटै दरमा सङ्क्रमण कायम छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३ सय ४२ जनामा रोगको सङ्क्रमण भेटिएको थियो । जुन १० वर्ष अगाडि आर्थिक वर्ष २०६८/०६९ मा ४ सय ८ मा थियो । गत आर्थिक वर्षमा ३ सय ४२ जना सङ्क्रमण हुँदा २० जनाको मृत्यु भएको छ । जुन ५.८ प्रतिशत मृत्यु दर हो ।

जिल्लामा २०७७/०७८ मा ३ सय ३९ मा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वर्षदेखि पुनः संक्रमण बढेको देखिन्छ । जिल्लाका तानसेन, रामपुर र निस्दीमा संक्रमण बढी देखिएको छ । “कोभिडको मृत्युदर २ प्रतिशत थियो । क्षयरोगको कारण भएको मृत्युदर ५.८ प्रतिशत हुनु राम्रो नभएको प्रमुख गिरीले बताउनु भयो ।

पाल्पामा ४० प्रतिशत क्षयरोगका बिरामी ६० वर्ष माथिका छन् । नेपालमा ८० प्रतिशतलाई फोक्सोको र २० प्रतिशतलाई अन्य भागमा क्षयरोग हुने गरेको छ ।  विश्वमै क्षयरोगलाई महामारी पछिको मृत्युको ठूलो कारकतत्व मानिन्छ । नेपालमा मात्रै वर्षेनी क्षयरोगका कारण ७ हजार जनाको मृत्यु हुने गरेको छ  ।

अन्य

भिडियो