महोत्तरीको बर्दिवासमा सम्पन्न एक कार्यक्रममा राजनीतिक दल, स्थानीय प्रहरी-प्रशासन, सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिले स्थानीय निर्वाचनमा मानव अधिकार कुण्ठित हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
महोत्तरीको बर्दिवासमा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले असार १ गते महोत्तरीको वर्दिवासमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै स्थानीय दल, प्रहरी-प्रशासन, नागरिक समाजका सहभागीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन लोकतन्त्रको आधारभूत कुरा भएकाले मतदाताले निर्धक्क आफ्नो मत दिन सक्ने वातावरण बनाउनु राज्यको मुख्य दायित्व भएको दलका प्रतिनिधिहरूको भनाइ थियो । कार्यक्रममा निर्वाचन बिथोल्ने, फरक विचारप्रति आक्रमण गर्ने र शक्ति र आर्थिक चलखेलका आधारमा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने जुनसुकै गतिविधि निरुत्साहित गर्न पर्नेतर्फ सहभागीले प्रहरी-प्रशासनको ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा आयोजक अभियानका सहअध्यक्षद्वय सुबोधराज प्याकुरेल र ईन्द्रप्रसाद अर्यालले लोकतन्त्रको ‘एन्टिबायोटिक’ निर्वाचन भएको र त्यसमा सबैले भाग लिनुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक डा. राजेश अहिराजले निर्वाचन सबैका लागि जनताबीच जाने राम्रो अवसर भएकाले आफ्ना विचार र मान्यता स्थापित गराउने अवसर कसैले पनि छोड्न नहुने भन्दै यो अवसरका रूपमा सबै राजनीतिक दलहरूले अग्रसरता लिनुपर्ने सुझाव दिए ।