सूर्यविनायक नगरपालिका-२ बालकोट निवासी नेपाली कांग्रेस बालकोट सभापति कृष्णभक्त श्रेष्ठसहितको परिवारले कुटपिट गरि चार जना घाइते बनाएको घटनाको उजुरी प्रहरीले दर्ता गर्न नमानेको भन्दै पीडित पक्षले आपत्ति जनाएका छन् ।
भक्तपुर जिल्ला र उच्च अदालत पाटनको फैसला तथा सर्वोच्च अदालतको आदेशको अबज्ञा गर्दै सार्वजनिक बाटो मासेर कुटपिट गरि चार जना घाइते बनाउने श्रेष्ठविरूद्ध प्रहरीले उजुरी लिन नमानेको घाइते राजन पौडेलले बताउनु भयो ।
वैशाख २१ गते राती आफ्नै घर अगाडिको सर्वसाधारणले प्रयोग गर्दै आएको सार्वजनिक बाटो खनेर आगमनमा अवरोध पुर्याएको र वैशाख २२ गते बिहानैदेखि बाटोको अवस्था हेर्दै फोटो खिचिरहेका सूर्यविनायक नगरपालिका-२ बालकोट निवासी ६१ वर्षीय राजन पौडेल र उहाँकी पत्नी ५८ वर्षीया करुणा पौडेललाई छिमेकी एवम् कांग्रेस वडा सभापति श्रेष्ठ र उनका परिवारले मोवाइल खोस्दै कुटपिट गरेको पीडित राजनले बताउनु भयो ।
कुटपिट भइरहेको देखेपछि छुट्याउन गएका पौडेलकी भतिजि २४ वर्षीया प्रतिज्ञा केसी र २२ वर्षीय दीपक खत्रीलाई समेत परिवारनै मिलेर कुटपिट गरि घाइते बनाएको उहाँले बताउनु भयो ।
घाइते चारै जनाको वैशाख २२ गते देखि मध्यपुर थिमिस्थित आरोग्य मल्टिस्पेसालिटी अस्पतालमा उपचार गरि वैशाख २७ गते चारै जना डिस्चार्ज भएका छन् ।
सूर्यविनायक नगरपालिका-२ नेपाली कांग्रेसका सभापति कृष्णभक्त श्रेष्ठले ०७० असार २४ गते १ लाख ५० हजार रुपियाँमा चार फुटे बाटो दिएर घर बिक्री गरेकोमा ०७५ माघ ६ गते उक्त घर करुणा पौडेलको नाममा पुन नामसारी भएपछि बाटोमा अवरोध गर्दै आएको करुणाले बताउनु भयो ।
त्यही बाटोको आधारमा वडा कार्यालय र नगरपालिकाले उक्त घरको नक्सा पास, इजाजत पत्र, घर निर्माण सम्पन्न र बाटो रहेको उल्लेख गर्दै सिफारिस दिए पनि कृष्णभक्तले अवरोध गर्दै आएको उहाँले बताउनु भयो ।
त्यसपछि परेको मुद्धामा ०७८ मङ्सिर १९ गतेको भक्तपुर जिल्ला अदालतको अन्तरिम आदेशले उक्त बाटो नभत्काउने, नचलाउने र अवरोध नगर्ने र उक्त बाटोलाई सदर गर्ने गरि करुणा पौडेलको पक्षमा फैसला गरेको थियो ।
फैसलाविरूद्ध कृष्णभक्तले उच्च अदालत पाटनमा पुनरावलोकन गएपछि उक्त अदालतले पनि ०८९ असार २ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि कृष्णभक्त पुन सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्च अदालतले ०७९ साउन १२ गते उक्त बाटो नखन्ने, जग्गा जमिन कब्जा नगर्ने गरि अन्तरिम आदेश जारी गरेपनि तीन ओटै अदालतको आदेश विपरित कृष्णभक्त र उनका परिवारले वैशाख २१ गते बाटो भत्काएर अवरोध गरेको पौडेलले बताउनु भयो ।
पीडित पक्षले वैशाख २२ गतेदेखि प्रहरी वृत्त थिमिमा उजुरी दर्ता गराउन खोज्दा दर्ता नगरेको र पीडितलाई न्याय नदिएको पौडेलले बताउनु भयो । उहाँले अदालतको आदेशको अवहेलना गर्ने, कुटपिट गर्ने कृष्णभक्त माथि कारबाहीको माग गर्दै प्रहरीमा गएको तर प्रहरीले उजुरी दर्ता नगरी छलफलमा बोलाएको उहाँले बताउनु भयो ।
यस बारेमा प्रहरी वृत्त थिमिका डिएसपी रबिन श्रेष्ठले घटनाबारे प्रहरीले अध्ययन र अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । उहाँले जग्गा बाटो विवाद र कुटपिट घटना भएको र दुवै पक्षले उजुरी दर्ता गर्न आएकाले दुवै पक्षलाई वैशाख २६ गते र वैशाख २७ गते पनि छलफलमा बोलाएको र छलफलबाटै समस्या समाधान गर्न प्रहरी लागिरहेको बताउनु भयो ।

