INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी नामाकरणमा विरोध: प्रहरीको गोली लागी दुई जना घाइते

कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै आन्दोलनरत प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ता र प्रहरीबिच झापाको दमकमा वैशाख २६ गते साँझ भएको झडपमा प्रहरीको गोली लागी दुई जना घाइते भएका छन् ।

प्रहरीको गोली प्रहारबाट इलाम चुलाचुलीका गजेन्द्र फागो र झापा विर्तामोडकी निर्मला बराल लिङ्देन घाइते भएको सङ्घर्ष समिति झापा संयोजक दिपेनवाला राईले बताउनु भयो ।

प्रहरीको गोली प्रहारबाट फागोको घुडाँमा गोली लागेको र लिङ्देनलाई गोलीको छर्रा लागेको संयोजक राईले बताउनु भयो ।

घाइते दुवै जनाको झापाको विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

photo 20230509 jhapa (2)

photo 20230509 jhapa (3)

आन्दोलनकारीसँगको झडपमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीको भनाइ छ ।

आन्दोलनकारी र प्रहरी घाइते भएको पुष्टि भएपनि उनीहरुको यकिन विवरण प्राप्त हुन सकेको छैन ।

तत्कालीन प्रदेश न.१ को प्रदेशसभाको दुई तिहाइले ०७९ फागुन १७ गते प्रदेश न. १ को नामाकरण कोशी प्रदेश गरेको छ ।

प्रदेश सरकारले फागुन १८ गते प्रदेश राजपत्रमा कोशी प्रदेश नामाकरण गरी सूचना प्रकाशन गरेको छ ।

नामाकरण खारेज गरी किराँत प्रदेश नामाकरण माग गर्दै फागुन १८ गतेदेखि विरोध हुँदै आएको छ ।

अन्य

भिडियो