१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदिप कुुमार खंगलाई वैशाख २५ गते १८ वर्ष कैद सजाय भएको छ ।
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासबाट अभियोग दावी पुग्ने फैसला हुँदै आरोपितलाई १८ वर्ष कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । आरोपितले ७ लाख रुपियाँ जरिवाना तिर्नुपर्ने र १ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने समेत फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो ।
आरोपितले २०७९ मङ्सिर १ गते राति बलात्कार गरेको भन्दै पीडितका बुबाले २०७९ मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । आरोपितले ललाई फकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयले २०७९ मङ्सिर २० गते उजुरी दर्ता गरेको थियो ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १९ गते स्वास्थ्य परीक्षण भएको थियो ।
आरोपित २०७९ मङ्सिर २० गते गिरफ्तार भएका थिए । जिल्ला अदालतमा ०७९ पुस १७ गते अभियोग पत्र दायर भएकोमा जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आरोपित पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।