INSEC Online

📅 २०८३ जेष्ठ २१

उच्च अदालतका मुद्दामा श्रव्यदृश्य संवादद्वारा सुनवाइ कार्य सञ्चालन

उच्च अदालत दिपालयमा रहेका मुद्दामा जिल्ला अदालत, अछामबाट श्रव्यदृश्य संवादद्वारा (भिडियो कन्फ्रेन्स)  मुद्दाको सुनुवाइ हुन थालेको छ ।

इन्टरनेटसहितको प्रविधिमा श्रव्यदृश्यबाट मुद्दाहरूको बकपत्र र बहस जिल्ला अदालतबाटै हुन थालेको अदालतका श्रेष्तेदार उपसचिव शंकरप्रसाद अधिकारीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो– ‘मुद्दावाल र वकिल दिपायल जानु पर्ने बाध्यता हटेको छ । एकै मुद्दाको पाँच पटकसम्म उच्च अदालत जानुपर्ने अवस्था थियो । अहिले भिडियो कन्फ्रेन्समार्फत मुद्दाका बारेमा बहस हुने गरेको छ । श्रव्यदृष्य संवादबाट बहस भएपछि यो समस्या समाधान भएको छ । ’

उच्च अदालत दिपायल पुग्नुपर्ने १० ओटा मुद्दाको बहस जिल्ला अदालत, अछामबाटै श्रव्यदृष्य संवादबाट भएको जिल्ला अदालत,अछामले जनाएको छ ।

पीडित र आरोपित पक्ष सम्बन्धित अदालतमा आएर बकपत्र गर्ने र कानुन व्यवसायीले आफ्नै कार्यकक्ष वा घरबाटै भर्चुअल बहस गर्ने गरेको उच्च अदालत दिपायलका प्रवक्ता नरबहादुर नेगीले जानकारी दिनु भयो ।

उहाँले श्रव्यदृष्य समाग्री जिल्ला कारागार, अछाममा समेत जडान गरिएकोले कैदीबन्दीले अदालतमा भएको बहसको दृश्य कारागारबाटै हेर्ने व्यवस्था गरिएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जिल्ला अदालत, अछाममा श्रव्यदृष्य संवाद हुने भएपछि मुद्दाका सारोकारवाला पक्षलाई उच्च अदालत पुग्नै पर्ने बाध्यता हटेको छ । श्रव्यदृष्य संवादको थालनी भएपछि मुद्दाको सामान्य कामका लागि पनि उच्च अदालत जानुपर्ने बाध्यता हटेको अधिवक्ता मात्रिकाप्रसाद भण्डारीले बताउनु भयो ।

उहाँले श्रव्यदृश्य संवादबाट अदालती काम हुन थालेपछि समय र आर्थिक बचत भएकोले सामान्य नागरिकलाई सहजता भएको बताउनु भयो ।

चिकित्सक जोडिएको मुद्दामा व्यस्तता र कामको संवेदनशिलताका आधारमा सम्बन्धित अदालतबाटै बकपत्र गर्ने गरेको बताइएको छ । उच्च अदालत दीपायलले श्रव्यदृष्य संवादसम्बन्धी कार्यविधि बनाएर सुदूरपश्चिममा मात्र अदालती काममा श्रव्यदृष्य संवादको काम  भइरहेको प्रवक्ता नेगीको भनाइ छ ।

जिल्ला अदालत, अछामका वैतनिक वकिल बस्ने कोठामा श्रव्यदृश्य संवाद कक्ष राखिएको छ ।

अन्य

भिडियो