२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय दिपककुमार दासलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ ।
आरोपितले ०७७ मङ्सिर १६ गते बलात्कार गरेको भन्दै पीडितले ०७७ चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । जिल्ला प्रहरी कार्यालयले ०७७ चैत १४ गते उजुरी दर्ता गरेको थियो ।
पीडितका पति आठ वर्षदेखि हराई बेपत्ता भएपछि पीडित ८ वर्षीय छोरासहित माइत बस्दै आएकी छिन् । राजविराज बजारबाट तरकारी किनेर फर्किरहेका बेला सुनसान बाटोमा एक्लो देखि गम्छाले मुख बन्द गरी नियन्त्रणमा लिइ राजविराज नगरपालिका–६ बागेश्वरी मन्दिरदेखि दुई सय मिटर पश्चिम खाली खेतमा आरोपितले बलात्कार गरेको पीडितले बताउनु भयो ।
आरोपित गिरफ्तार नभएपछि ०७८ मङ्सिर १४ गते अभियोग पत्र दायर भएकोमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालयले वैशाख १३ गते जिल्ला अदालतमा आरोपितलाई उपस्थित गराएकोमा जिल्ला न्यायाधीश नवीनकुमार जोशीले ५ लाख रुपियाँ धरौटी माँग गर्ने आदेश भयो ।