भरतपुर महानगरपालिका-११ को नयाँकिरण मावि मतदान केन्द्रमा स्थगित गरिएको मतदान पुनः सुरु भएको छ ।
दुई पक्षबीच विवाद र झडप भएपछि रोकिएको मतदान सर्वदलीय बैठकमा चार बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा रास्वपालाई माफी माग्न लगाउने र आचारसंहिता उल्लङ्घन भएको कुरा मुख्य निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय भएसँगै मतदान पुनः सुरु भएको हो । मतदान स्थल बाहिर दलका कार्यकर्ताले नाराबाजी गरेपछि मतदान रोकिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने मतदान स्थलमा आएलगत्तै उनका समर्थकहरूले लामिछानको पक्षमा नाराबाजी गरेपछि विपक्षी दलका कार्यकर्ताले नाराबाजी गरेका थिए । त्यसक्रममा रास्वपाका समर्थक र विपक्षी दलका कार्यकर्ताबीच धकेलाधकेल भएको थियो ।
अहिले सो मतदान केन्द्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन कार्यालयका सहायक अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।
