पहिचानको आधारमा प्रदेशको पुनः नामाकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबिच चैत ९ गते विराटनगरमा भएको झडपमा ६ जना घाइते भएका छन् ।
कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू (लाजेहाङ)को श्रद्धाञ्जली सभाको तयारी भइरहँदा विराटनगरको रोडशेष चोकमा आन्दोलनकारी र प्रहरीबिच झडप भएको हो ।
झडपमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ का ३० वर्षीय डेनिज राई, झापा, शिवसताक्षी नगरपालिकाका ४३ वर्षीय राजकुमार शेर्मा, विराटनगर महानगरपालिका–८ का ४२ वर्षीय चन्द्रकुमार राई, किराँत राई, यायोख्खा केन्द्रीय उपाध्यक्ष खोटाङ मझुवागडी रुपाकोट नगरपालिका–३ का ४५ वर्षीय देवान राई र किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष ४५ वर्षीय प्रेम याक्तेङ र इटहरी उपमहानगरपालिका–२ की २६ वर्षीया दयाकुमारी राई घाइते भएको आन्दोलनरत पक्षले जनाएको छ ।
घाइते भएका मध्ये चन्द्रकुमार राईको खुट्टामा चोट लागेको छ भने अन्यको अश्रुग्यासको प्रहारबाट हात र खुट्टामा चोट लागेको किरात राई यायोख्खा विराटनगर महानगरपालिका अध्यक्ष विष्णु राईले बताउनु भयो ।
घाइतेहरूको विराटनरस्थित पारस अस्पतालमा उपचार गरी वैशाख ९ गते साँझ डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
झडपका क्रममा नेपाल प्रहरीका तीन जना र शसस्त्र प्रहरीका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताउनु भयो ।
प्रदर्शनकारीको ढुंगा प्रहारबाट सामान्य चोटपटक लागे पनि कोही उपचारका लागि अस्पताल भर्ना गर्ने घाइते नभएको डिएसपी दाहालले बताउनु भयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका घाइतेहरुको विवरण उपलब्ध गराउन प्रहरीले अस्वीकार गरेको छ ।
अस्पताल भर्ना गर्नु पर्ने गरी कोही घाइते नभएकाले उनीहरुको विवरण रेकर्डमा नराखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दाहालले बताउनु भयो ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै ०७९ चैत ५ गते विराटनगरमा प्रदर्शन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।
उक्त झडपमा पदम लिम्बु (लाजेहाङ) घाइते भएका थिए । घाइते भएका लाजेहाङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।
लाजेहाङको अन्त्येष्टि गर्नुअघि वैशाख ९ गते धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने कार्यक्रम राखिएको थियो ।
धरान, इटहरीमा श्रद्धाञ्जली सभा गरेर विराटनगरको रोडशेष चोकमा शव ल्याइ पुर्याएपछि लिम्बुवान भोलेन्टियर्सको टिसर्ट लगाएका आन्दोलनकारीहरूसँग प्रहरीको झडप भएको हो ।

