निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई बारा जिल्ला क्षेत्र नं. २ उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल असर पर्ने गरी अनुमति बिना निर्वाचना आचारसंहिता विपरीत कार्य गरेको भन्दै लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले वैशाख १० गते निर्वाचन भइरेको समयमा के कारणले पचरौता नगरपालिकाका मतदान स्थलहरूमा गएको भनि आज पत्र मार्फत मुख्यमन्त्री यादवलाई स्पष्टिकरण सोधेको हो ।
सवारी साधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन, सोको जवाफ निर्वाचन आयोगले मुख्यमन्त्री यादवसँग मागिएको छ ।
पत्रमा भनिएको छ– “मुख्यमन्त्री पदको गरिमा निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ हुँदैन ? निर्वाचना आचारसंहिता उल्लङ्घन गरेकोमा तपाईलाई निर्वाचन आयोग ऐन २०७३ बमोजिम कारबाही किन नगर्ने ? भनि २४ घण्टा भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिइएको छ ।”
बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले निर्वाचन क्षेत्रमा सरकारी सवारी साधन र सुरक्षा प्रयोग गरेर जान हुन्छ हुँदैन भनेर मुख्यमन्त्री यादवसँग स्पष्टिकरण निर्वाचन आयोगले सोधेको बताउनु भयो ।