INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ५६ जना पीडित

सुदूरपश्चिम प्रदेशमा तीन महिनाको अवधीमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा २ सय ४२ जना महिला सहित २ सय ५६ जना पीडित भएको इन्सेकले जनाएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले वैशाख ६ गते सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको तीन महिनाको (सन् २०२३ जनवरीदेखि २०२३ मार्चसम्म) मानव अधिकार स्थिति सूचक प्रकाशनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

इन्सेकले सार्वजनिक गरेको मानव अधिकार स्थति सूचक प्रकाशनमा तीन महिनाको अवधिमा गैरराज्यपक्षबाट २ सय २० जना महिला पीडित भएका छन् । जसमध्ये घरेलु हिंसाबाट १ सय ९९ जना, बलात्कारबाट १२ जना, बलात्कारको प्रयासबाट एक जना, बेचबिखनबाट एक जना र वहुविवाहबाट सात जना गरी २ सय २० जना महिला पीडित भएका छन् ।

यसैगरी गैरराज्यपक्षबाट १८ जना बालिकाहरु पीडित भएका छन् । जसमध्ये बलात्कारबाट नौ जना, यौन दुर्व्यवहारबाट आठ जना र बालविवाहबाट एक जना गरी १८ जना बालिका पीडित भएका इन्सेकको मानव अधिकार स्थिति सूचकमा प्रकाशन गरिएको छ । जातीय विभेदबाट एक जना महिला सहित दुई  जना पीडित भएका छन् भने दुव्र्यवहारबाट एक जना महिला सहित चार जना पीडित भएको उल्लेख छ ।

गत वर्ष झै यस वर्षका तीन महिनाको अवधिमा पनि यस प्रदेशको मानव अधिकारको अवस्थामा सुधार आउन सकेको इन्सेकले जनाएको छ । यदपी यस तीन महिनाको अवधिमा राज्यपक्षबाट मानव अधिकार उल्लङ्घनका घटनाहरु सतहीकरण नभएको भएपनि आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारको अवस्थामा सुधार आउन नसकेको इन्सेकले प्रकाशन गरेको मानव अधिकार स्थिति सूतकमा उल्लेख गरिएको छ ।

अन्य

भिडियो