INSEC Online

📅 २०८३ जेष्ठ २१

घर छेउमै गाडिएको अवस्थामा महिलाको शव फेला

घोराही उमनपा–१२ की ४१ वर्षीया शारदा केसीको आफ्नै घर छेउमै गाडिएको अवस्थामा शव फेला परेको छ ।

तरकारी टिप्न गएकोबेला छिमेकीले घर छेउमै बाख्रा बाँध्ने ठाउँमा मान्छेको खुट्टा खाडलबाट बाहिर निस्किएको देखेपछि वैशाख ६ गते प्रहरीलाई खबर गरेका थिए ।

सडेको अवस्थामा रहेको शव प्रहरीले उत्खनन् गरी पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतककी छोरी २१ वर्षीया दीपा केसीले हत्यामा सङ्लग्न रहेको भन्दै बुवा ४४ वर्षीय मेघराज केसी र हजुर आमा ६७ वर्षीया भुमाकुमारी खत्रीविरूद्ध वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिनु भएको छ ।

आरोपित मेघराज फरार छन् भने सासु भुमा घरमै रहेको प्रहरीले जनाएको छ । उजुरीकर्ता छोरी दीपाले आमा शारदालाई योजनावद्धरुपमा वैशाख १ गते राती हत्या गरी गाडेको किटानी दिनुभएको छ ।

यसअघि पनि मेघराजले शारदालाई मादक पदार्थ सेवन गरी पटक पटक कुटपिट गरेको र वैशाख २ गते आमाको फोन नउठेको, पछि स्वीच अफ गरेर राखेपछि आफू घरमै भेट्न आउदा नभेटेपछि सोधपुछ गर्दा हजुर आमाले दुईजनाले झगडा गरेर गाउँतीर भागेको बताएको दीपाले बताउनु भयो ।

आमा सम्पर्कमा नरहेको विषयमा प्रहरीमा खबर गरौ भन्दा उजुरी नगर्न भनेपछि आफू फर्किएको भन्दै दीपाले मेघराज र भुमाले हत्या गरेर गाडेको आरोप लगाउनु भयो ।

मेघराजको खोजी भइरहेको र भुमामाथि सोधपुछ र निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमले बताउनु भयो ।

अन्य

भिडियो