अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० वैशाख ५ गते सन् २०२३ को पहिलो तीन महिना (जनवरी देखि मार्चसम्म) को अवधिमा मानव अधिकार अवस्था सार्वजनिक गरेको छ ।
बागमती प्रदेशको अभिलेख अनुसार सन् २०२३ को पहिला तीन महिनाको अवधिमा यस प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय २१ जना महिला सहित २ सय ५१ जना पीडित भए ।
जसमा राज्यपक्षबाट घाइते, कुटपिट र अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लङ्घनको घटनामा सात जना महिला सहित २३ जना पीडित भए ।
अभिलेखित घटना अनुसार कुटपिट घटनामा दुई जना, भेला अभिव्यक्ति स्वतन्त्रताका घटनामा तीन जना महिला सहित १४ जना र चार जना महिला सहित पाँच जना घाइते भए ।
तथापि अन्यपक्षबाट हुने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमा महिला तथा बालबालिका पीडित भएका छन् । विशेष गरी महिला तथा बालिकाहरू बलात्कार तथा यौन जन्य हिंसाका घटनामा पीडित भएका छन् । यो अवधिमा चार वर्षीया बालिकादेखि ६१ वर्षीया ज्येष्ठ नागरिकसम्म यौनजन्य हिंसाबाट पीडित भए ।
यसैगरी अन्यपक्षबाट १८ जना पुरुष र २ सय १० जना महिला गरी २ सय २८ जना पीडित भए । अभिलेखित घटना अनुसार तीन जना महिलासहित १० जनाको हत्या भयो ।
यो अवधिमा सबैभन्दा बढी महिला अधिकार उल्लङ्घनका घटनामा १ सय २१ जना महिला र बाल अधिकार उल्लङ्घनका घटनामा ७८ जना बालबालिका पीडित भए ।
जसमध्ये ५० जना बालिका बलात्कार, दुई जना बालिका बेचबिखन र २४ जना बालिका यौन दुर्व्यवहारबाट पीडित भए ।
साथै, महिलाविरुद्ध हुने हिंसाका घटनामा १ सय २१ जना महिला पीडित भए । जसमध्ये ३४ जना बलात्कार, सात जना बलात्कार प्रयास र पाँच जना यौन दुर्व्यवहारका घटनामा पीडित भए ।
यसअघि विभिन्न आपराधिक घटनामा संलग्न आरोपितहरूमाथि पनि कानुनी कारबाही हुन नसक्नु लगायतका कारणले ज्यादतीका घटना कम हुन सकेको छैन ।
महिला र बालबालिका माथि हुने हिंसाका घटना न्यूनिकरणका लागि स्थानीय सरकारले पनि स्पष्ट नीति ल्याउन नसक्नु तथा रोजगारीको अवसर नहुनु तथा बेरोजगार जनशक्ति बढ्नुले पनि महिला र बालबालिका माथि हुने हिंसा बढेर गएको हो ।