रुकुम पश्चिमको मुसीकोट नगरपालिका–३ का गोपाल विक आज भन्दा तीन वर्ष अगाडी साथीहरुसँग खलंगा बजार जान्छु भनी घरबाट हिडे । सामान्य किनमेलको लागि साथीहरुसँग बजार हिडेका गोपाल तर तीन वर्ष सम्म पनि घर फर्किएनन् । सधैँ जसो उहाँकी आमा आगनको डिलमा गोपाल फर्किएर आउने आशामा दिन कटाउने गर्नुहुन्छ । छोराकै वियोगमा गोपालको आमा मानसिक रोगी समेत बनिसकेको उहाँको बुवा उमालालले बताउनुभयो । छोरा हराएपछी प्रत्येक ठाउँमा खोजखबरी गरियो । ‘चिनेजानेकादेखि प्रहरी–प्रशासनसम्मलाई हारगुहार गरियो, छोराकै खोजीमा काठमाडौं, नेपालगन्ज, दाङ सुर्खेतलगायत भारतका विभिन्न ठाउँ पनि पुगियो,’ उनका बाबु उमलालले भने, पलपल छोराको सम्झनाले पिरोल्छ, अहिलेसम्म म¥यो या जिउँदो छ, कतै पत्ता लागेन ।’
यस्तै, वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकका १३ वर्षीय शंकर चौधरी गत साउनमा हजुरआमासँग विद्यालय जान्छु भनेर घरबाट निस्किनुभयो । उहाँ सधैंजस्तै विद्यालयमा पढेर घर फर्किने आशामा हजुरआमा जौकला रोकाया नातिको बाटो कुरेर बसीरहनुभयो । तर नाति शंखर अबेरसम्म पनि घरमा फर्किनुभएन् । आफन्त साथीभाई, विद्यालयमा खोजी गर्दा पनि शंकर नभेटिएपछी जौकलाले प्रशरी तथा स्थानीयको सहयोगमा खोजी गर्न थाल्नुभयो । त्यतिबेला शंखर भारत छिरिसकेका रहेछन् । करिव ६ महिनापछी शंखरलाई भारतबाट उद्दार गरेपछी परिवारसँग पुर्नमिलन भएको छ । शंखरलाई वीरेन्द्रनगर नगरपालिकाको महिला शाखाले परिवारको जिम्मा लगाएको हो ।
कर्णाली प्रदेशमा हराउने बालबालिकाको संख्या ठुलो छ । प्रदेशका सबैजसो जिल्लामा बालबालिका हराउने क्रम बर्सेनी बढ्दो क्रममा देखिएको छ । प्रदेश प्रहरी कार्यालका अनुसार पछिल्लो साढे तीनवर्षको अवधिमा कर्णालीमा १ हजार ३ सय ५९ जना बालबालिका हराएका छन् । त्यसमध्ये एकहजार ३९ जना बालबालिका भेटिएका छन् । भने एक सय ४७ जना फेला भेटिएका छैनन् । प्रहरीमा जानकारी गराएपछि खोजी गर्दा केही बालबालिका भेटिनेगरेका छन् भने कतिपय बालबालिका लामो समयसमम पनि नभेटिने गरेको पाइएको छ । हराउनेमा बालकभन्दा बालिकाको संख्या बढी छ । यस अवधिमा ६ सय ६७ जना बालिका र पाँच सय ५८ बालक हराएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी माधवप्रसाद श्रेष्ठले बालबालिका हराउने दर बढ्दो रहेको बताउनुभयो ।
आर्थिक प्रलोभन, अशिक्षा, गरिबी र कतिपय विवाह गरेर पनि परिवारबाट सम्पर्कविहीन हुने गरेको पाइएको छ । कतिपय बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाने गिरोहसमेत सक्रिय छ । श्रेष्ठ भन्नुहुन्छ, ‘प्रलोभनहरू देखाएर एकैपटक हामीले चार पाँच जनालाई भारत लिन लागेको अवस्थामा नेपालगञ्जबाट उद्दार गरेर ल्याएका छौँ, भारतमा पनि बालबालिका राखिएको ठाउँ पत्ता लागेसम्म उनीहरूलाई उद्दार गरेर ल्याउने गरिएको छ ।’ प्रहरीका अनुसार कतिपय बालबालिका हराएको अभिभावकले प्रहरीमा जानकारी गराए पनि भेटिएपछि खबर नगर्दा हराउने र भेटिनेको संख्या यकिन गर्न भने कठिनाइ छ । प्रहरीले उजुरीका आधारमा बालबालिकाको खोजतलास गर्दै आएको छ । अभिभावकहरूले बालबालिका हराउँदा उजुरी दिन आउने तर भेटिएपछि जानकारी नदिने गर्नाले भेटिए नभेटिएकोबारे सम्बन्धित निकाय बेखबर रहने अवस्था भएको हो ।
कर्णालीमा आर्थिक वर्ष २०७६/०७७ मा ३ सय २८ जना बालबालिका हराएका थिए । तीमध्ये १ सय ६२ बालक र १ सय ६६ जना बालिका हुन् । त्यसमध्ये १ सय ५१ बालक र १ सय ५१ जना बालिका फेला परेको प्रहरीको तथ्याङ्क छ । उक्त आर्थिक वर्षमा हराएका १५ जना बालिका र ११ जना बालक फेला परेका छैनन् ।
यस्तै आर्थिक वर्ष २०७७/०७८ मा २ सय २५ बालबालिका हराएका थिए । जसमा बालक ८५ जना हराएका थिए भने बालिका १ सय ४० हराएका थिए । जसमा ७५ बालक फेला परेका छन् । भने एक सय दश बालिका फेला परेका छन् । १० जना बालक र ३० जना बालिका अझै नभेटिएको कर्णाी प्रदेश प्रहरी कार्यायको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ सय ८ जना बालबालिका हराएका थिए । १ सय ५३ बालक र २ सय ५५ जना बालिका हराएकोमा १ सय ३१ बालक र २ सय ३४ बालिका फेला परेका छन् । २१ जना बालिका र २५ जना बालक अझै भेटिएका छैनन् ।
चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म २ सय ४२ जना बाबालिका हराएका छन् । त्यसमध्ये ८० जना बालक र १ सय ६२ जना बालिका रहेका छन् । जसमध्ये १० जना बालक भेटिएका छन् । भने २० जना बालिका भेटिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
बालबालिकाको सुरक्षा र संरक्षण साझा दायित्व भएकाले यसतर्फ सबै गम्भीर बन्नुपर्ने एसएसपी श्रेष्ठले बताउनुभयो । ‘अभिभावकले पनि आफ्ना छोराछोरी के गर्छन्, उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने र रेखदेखमा ख्याल गर्नुपर्ने हुन्छ,’ उहाले भन्नुभयो । बालबालिका हराउनुमा आर्थिक अभाव, बेरोजगारी, साथीहरूको लहलहैमा लागेर, परिचित व्यक्तिसँग गोप्य रूपमा भेटघाट, घरासी झै–झगडा, अशिक्षा, मानसिक असन्तुलन, मनोवैज्ञानिक रूपमा कमजोर, भागेर बालविवाह गर्नु र जनचेतनाको कमीजस्ता कारण देखिने गरेको छ ।
हराएका बालबालिकाको तथ्याङ्क हेर्ने हो भने कर्णालीका १० ओटा जिल्ला मध्ये सबैभन्दा धेरै सुर्खेतमा बालबालिका हराउने दर बढी रहेको छ । गरिब तथा विपन्न परिवार, बालबालिकालाई अभिभावकहरूले निगरानी नराख्ने परिवार र अशिक्षित परिवारका बालबालिका बढी हराउने गरेको पाइएको छ । हराउनेमा अधिकांश अतिविपन्न परिवारका बालबालिका रहेको पाइएको हो । परिवारबाट सम्पर्कविहीन हुने तथा हराउने बालबालिका प्रायजसो भारततर्फ जाने, होटल, घरेलु काम र अवैध कारोबारमा संलग्न हुने गरेका छन् ।