काठमाडौँ महानगरपालिका-४ गैरीधारामा ७४ वर्षीया तीर्थमाली पुनलाई गोली प्रहार गरेको आरोपमा भिआईपी सुरक्षामा खटिएका ३२ वर्षीय प्रहरी सहायक हवल्दार प्रकाश पुनलाई ०८० वैशाख २ गते प्रहरीले गिरफ्तार गरेको छ ।
प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका प्रहरी सहायक हवल्दार पुनले वैशाख १ गते चलाएको गोली लगेर नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा घाइते भएकी हुन् ।
घाइते तिर्थमालीको खुट्टामा चोट लागेको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
नयाँ वर्षको कार्यक्रममा नेता पुनको आफन्त पर्ने प्रहरी हवल्दार प्रकाश वर्षमान पुनको आमा रहेको घरमा गएका थिए । सोही क्रममा मदिरा सेवन गरेका प्रकाशले विवाद भएपछि आफ्नो साथमा रहेको पेस्तोल चलाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिनुभयो ।
हवल्दार पुनलाई प्रहरी प्रधान कार्यालय नक्सालमा राखेर अनुसन्धान सुरु गरिएको एसपी रिजालले बताउनु भयो ।