INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानी अभावका कारण स्थानीयहरुलाई सास्ती

के.आई.सिं. गाउँपालिका–३ झिगाबस्ती गाउँका २ सय घरदुरीमा वर्षौदेखि खानेपानीको अभाव तथा व्यवस्था नहुँदा  स्थानीयबासीहरुले सास्ती खेप्नु परेको छ ।

झिगाबस्ती, देउकाँडा, करकला टोललगायत गाउँका २ सय घर परिवारका लागि लामो समयदेखि खानेपानीको व्यवस्थापन नगरि दिदा कुँवा र खोलाको पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय सुर्य भुलले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँमा कतै मुहानहरु छैनन् । बर्षायामका तीन महिना चैत, वेशखा र जेठमा पीउनलाई पानी नै पाइदैन् । यो समस्या वर्षौदेखि भोगिरहेका छौँ । कसैले सुनुवाइ गरेका छैनन् ।’

एक गाग्री पानी भर्नका लागि कुँवा पुग्न करिव आधा घण्टा लाग्ने र पालो कुर्नु पर्ने भएकोले कहिले काही त दिनभरी पानीकै लागि लाइनमा बस्नु पर्ने बाध्यता रहेको स्थानीय टिका बमले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘एउटै कुँवामा गाउँलेहरु पानी भर्न निर्भर हुनु पर्ने बाध्यता छ । बिहान उज्यालो नहुँदै घरबाट हिडेर जाने गरेका छौँ । पालो कुर्दा धेरै समय लाग्ने गर्छ । खानेपानीको समस्याले घरायसी काममा समेत असर पर्ने गरेको छ ।’

खानेपानी समस्याले स्थानीय व्यापारी र होटल व्यवसायीले समेत समस्या झेल्नु परेको स्थानीय व्यापारी खगेन्द्र कुँवरले बताउनु भयो ।

उहाँले निर्वाचनको समयमा हरेक राजनीतिक दलका नेताहरुले खानेपानीको समस्या मुख्य विषय बनाउने गरेको भए पनि निर्वाचन सकिएपछि खानेपानीको मुद्दा सेलाउने गरेको बताउनु भयो ।

खानेपानीको समस्या समाधानका लागि वारम्वार प्रयास गरिरहेको के.आई.सिं गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर कुँवरले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘खानेपानीको समस्या समाधान गर्न ठुलो बजेटको आवश्यकता छ । वडाको बजेट प्रयाप्त हुदैन् । यस वर्ष मात्र वडाकार्यालयले प्रदेश र संघीय सरकारसँग खानेपानीका लागि आवश्यक बजेट माग गरेको छ । प्रदेश र संघीय सरकारले बजेट विनियोजन गरेका खण्डमा यो समस्या चाडो समाधान गर्न सकिन्छ ।’

बासुदेवी बृहत खानेपानी योजनाका लागि यस वर्ष आवश्यक बजेट विनियोजन गरिने योजना गरिएको के.आई.सिं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहिले बताउनु भयो ।

उहाले गाउँ नजिकै खानेपानीका मुहान नभएकोले प्रदेश र संघीय सरकारको सहयोगमा सेती नदीबाट लिप्टिङ् गरेर गाउँमा खानेपानी पुर्‍याउनका लागि यस वर्ष प्राविधिक चेकजाँच कार्य आगाडी बढाउने तयारी भइरहेको बताउनु भयो ।

अन्य

भिडियो