कोशी प्रदेश सरकारको चैत २९ गतेको मन्त्री परिषद् बैठकको सिफारिसपछि दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ ।

कोशी प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन ०७९ पुस १७ गते आह्वान भएको थियो ।
प्रदेश सरकारको सिफारिस अनुसार कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले चैत २९ गते राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको निर्णय गर्नु भएको छ ।
कोशी प्रदेशको नामाङ्कनपछि अनिश्चितकालका लागि स्थगित भएको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको हो ।
०७९ फागुन १७ गते प्रदेशको नामकरणपछि सभामुख बाबुराम गौतमले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नु भएको थियो । एक महिना १२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो ।
प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् । आन्दोलनरत पक्षधरले प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलन सुरू गरेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारी विजनेश नभएका कारण अधिवेशन अन्त्य भएको बताउनु भएको छ ।
०७९ फागुन १७ गते बसेको पहिलो अधिवेशनको १३ औं बैठकले प्रदेशको नाम कोशी नामाकरण गरेको छ ।