INSEC Online

📅 २०८३ जेष्ठ २१

द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्ति फर्कने आश मरेको भन्दै २१ वर्षपछि काजक्रिया

तत्कालिन माओवादी शसस्त्र द्वन्द्वकोे क्रममा बेपत्ता पारिएका अजिरकोट गाउँपालिका–३ का चन्द्रप्रसाद खनालको २१ वर्ष पछि काजक्रिया थालिएको छ ।

खनालको चैत १८ गते कुशको शव बनाएर वडा नम्वर ३ स्थित चेपेघाटमा सदगद गरेर परिवारले काजक्रिया थालेका हुन् । चैत २७ गते १० दिनको काम सकिएको छ ।

बेपत्ता पारिएका चन्द्रप्रसादलाई केहि दिनअघि सरकारले प्रकाशित गरेको शहिदको सूचिमा नाम समावेश भएपछि सोहिलाई आधार मानेर काजक्रिया थालिएको उहाँका कान्छा छोरा कृष्णउदास खनालले बताउनुभयो ।

चन्द्रप्रसाद खनाल घरनजिकै खेतमा धानको दाइँ गर्दै गर्दा ०५८ मङ्सिर १६ गते भच्चेकमा रहेको तत्कालिन शाहि नेपाली सेनाले गिरफ्तार गरेको थियो ।

त्यसपछि बुवाको सोधखोज गर्दा कुनै जानकारी प्राप्त गर्न नसकिएको कृष्णउदासले बताउनुभयो । ‘२१ वर्षसम्म कुनै जानकारी प्राप्त गर्न सकिएन ।’–उहाँले भन्नुभयो–‘सरकारले राजपत्रमा प्रकाशित गरेको शहिदको सूचीमा बुवाको पनि नाम समावेश भएपछि त्यसैलाई आधार मानेर काजक्रिया गरेका हौँ ।’

मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्धदेखि विस्तृत शान्ति सम्झौता भएसम्मको अवधिमा शहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय शहिदको मान्यता दिने’ निर्णय गरेको थियो ।

बैठकको निर्णय अनुसार नेपाल राजपत्रमा फागुन २९ गते प्रकाशित शहिदको सूचीमा चन्द्रप्रसादको पनि नाम समावेश छ ।

चन्द्रप्रसादका छोराहरू दुर्गा, कृष्णउदास र ६५ वर्षीया पत्नी पित्तकुमारी खनाल काजक्रियामा बस्नुभएको छ ।

पति चन्द्रप्रसादको बारेमा सोधखोजका लागि गोरखाको भच्चेक, ठिगुरेस्वारा तथा काठमाडाँैको व्यारेकसम्म पुग्दा पनि कुनै पत्तो पाउन नसकिएको पित्तकुमारीले बताउनुभयो । २००२ मङ्सिर २ मा जन्मिनुभएका चन्द्रप्रसाद बेपत्ता हुँदा ५६ वर्षको हुनुहुन्थ्यो ।

अन्य

भिडियो