तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेले निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार गर्नु भएको छ । गत चैत २४ गतेबाट लागु भएको निर्वाचन आचार संहितामा उम्मेदवार र दलको चुनाव चिन्ह भएको लोगो वा लकेट लगाउन नपाइने उल्लेख भएपनि वाग्लेले आफ्नो चुनाव चिन्ह घन्टी अंकित लोगो लगाएर चुनाव प्रचारमा हिड्नु भएको हो ।
निर्वाचन आचार संहिताको परिच्छेद ४ को १३ नम्बर बुँदाको (घ) नम्बरमा जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो, स्टिकर वा लकेट समेत लगाउन नपाईने स्पष्ट व्यवस्था छ । तर वाग्ले र राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा हिड्ने अधिकांशले सो पार्टीको चुनाव चिन्ह अङ्कित लोगो लगाएर हिड्नु भएको हो ।
गत चैत २४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका अध्यक्ष विकास सिग्देलले लोगो लगाएर हिड्ने कार्यले आचार संहिताको उल्लङ्घन हुने भएकोले अब देखी उक्त लोगो नलगाईकन चुनाव प्रचार प्रसार गर्ने बताउनु भएको थियो । तर सिग्देलको प्रतिवद्धता कार्यान्वयन भएको छैन ।
तनहुँका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले सबै पक्षले निर्वाचन आचार संहिताको पालना गर्नु पर्ने बताउनु भयो । ‘निर्वाचन आचार संहिता कानुनी र नैतिक बन्धन हो, यो सबैले पालना गर्नु पर्छ’ आचार्यले भन्नु भयो ‘निर्वाचन आचार संहिताको पालना नगर्दा कारवाही भएमा सम्बन्धित पक्ष आफै जिम्मेवार बन्नु पर्छ ।’ निर्वाचन आचार संहिताको पुर्ण पालना भएमा मात्र निर्वाचनको विश्वसनियता हुने भएकोले सबैले यस प्रति गम्भिर बन्नु पर्ने उहाँको भनाई थियो ।

