INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नारायण नगरपालिका–८ का ८६ वर्षीय प्रजापति रेग्मीलाई प्रहरीले चैत २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर दिपक बिष्टले बताउनुभयो ।

चैत २३ गते पूर्णिमाको टीका लगाइदिन्छु भनी सदरमुकाममा आफू सुत्ने कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षले उजुरीमा खुलाएको बताइएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण र उपचार चैत २३ गते नै दैलेख जिल्ला अस्पतालमा भयो ।

आरोपित रेग्मीलाई हिरासतमा लिई घटनाको अनुसन्धान थालिएको इन्स्पेक्टर बिष्टले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा १० ले ज्येष्ठ नागरिक वादी वा प्रतिवादी भएको मुद्दालाई अदालतले प्राथमिकता दिई कारवाही किनारा गराउनुपर्ने, दफा १२ मा ६५–७० वर्षका ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, ७०–७५ वर्षकालाई ५० प्रतिशत र ७५ देखि माथिको उमेरका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म कैद छुट गर्न सकिने कानुनी व्यवस्था छ ।

कुनै कसुरमा अदालतको आदेशबाट छुट पाएको बाहेक भुक्तान गर्नुपर्ने कैद समय अवधि र कसुरको गाम्भीर्यता हेरी कारागारमा नराखी ज्येष्ठ नागरिक हेरचाह केन्द्र राख्न सक्ने कानुनी व्यवस्था छ ।

बलात्कार सम्बन्धीका कसुर, तेजाव वा ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अङ्गभङ्ग गरेको वा शारीरिक क्षति पु¥याएको कसुरमा कैद छुट नदिइने सोही दफामा उल्लेख गरेको छ । ‘यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने ऐन २०७९’ले बाल यौन दुर्व्यवहार समेतलाईसमेटेको कारण रेग्मीले कसुर गरेको ठहर भएमा कैद छुटको सहुलियत पाउने अवस्था देखिदैन ।

अन्य

भिडियो