आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।
निर्वाचन आयोगले वेभसाइटमा राखेको विवरण अनुसार राजनीतिक दलका ३३ जना उम्मेदवार छन् भने ३६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।

महिला उम्मेदवारी दर्ताका लागि राजनीतिक दलहरूले चासो नदेखाएको तथ्याङ्कले देखाउँछ ।
तनहुँमा राप्रपाले एक जना महिलालाई उम्मेदवार बनाएको छ । अन्य क्षेत्रमा सात जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तनहुँमा भने स्वतन्त्र उम्मेदवारी परेन । बारा-२ मा २४ र चितवन-२ मा १२ जना स्वतन्त्र उम्मेदवार छन्।
तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थानमा पुनः निर्वाचन हुन लागेको हो । त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थानमा पुनः निर्वाचन हुन लागेको हो ।
चितवन-२ बाट निर्वाचित रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी देखिएपछि सांसद पद खारेजीमा परेका कारण सो स्थानमा पुनः निर्वाचन हुन लागेको हो ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट नेपाल सुशासन पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका रमेशप्रसाद खरेलले ३ हजार १ सय २४ मत ल्याउनु भएको थियो । सो प्रयासमा निर्वाचित हुन नसक्नु भएका खरेलले उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा-२ बाट उम्मेदवारी दिनु भएको छ ।
त्यसैगरी गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा एमालेको तर्फबाट उम्मेदवार हुनु भएका सर्वेन्द्र खनालले ८ हजार ९ सय १७ मत प्राप्त गर्नु भएको थियो ।
सो निर्वाचनमा पराजित खनालले उपनिर्वाचनमा सोही पार्टीबाट तनहुँ-२ बाट उम्मेदवारी दिनु भएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सप्तरी-२ बाट पराजित हुनु भएको थियो । उहाँले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नु भएको थियो । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उहाँले बारा-२ बाट उम्मेदवारी दिनु भएको छ ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट मङ्सिर ४ गतेको निर्वाचनमा माओवादी उम्मेदवार बन्नुभएका शिवचन्द्र प्रसाद कुसवाह निर्वाचनमा पराजित हुनु भएको थियो । उहाँले १३ हजार ४ सय ६८ मत प्राप्त गर्नु भएको थियो । वैशाख १० गते हुने उपनिर्वाचनमा उहाँ जनमत पार्टीबाट उम्मेदवार बन्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको पद खारेज भएपछि तोकिएको निर्वाचनमा लामिछानेले पुनः उम्मेदवारी दिनु भएको छ ।