INSEC Online

📅 २०८३ जेष्ठ २१

चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा २४ जना उम्मेदवार

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा २४ जनाले ०७९ चैत २० गते मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने मध्ये १२ जना दलका र १२ जना स्वतन्त्र उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, नेपाली कांग्रेसबाट जीत नारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट राम प्रसाद न्यौपाने छन् ।

यस्तै राष्ट्रिय प्रजातान्त्र पार्टीबाट जीव लाल पुरी, नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर तमाङ्ग, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिन, जय जन्मभूमि पार्टी नेपालबाट प्रेम बहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीबाट योग लाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी उम्मेदवार छन् ।

स्वतन्त्रबाट उम्मेदवार हुनेहरूमा अम्बिका भट्ट, चक्रपानी न्यौपाने, तारा प्रसाद पौडेल, भास्कर चन्द्र न्यौपाने, मोजराज वागाले, रामकृष्ण ओझा, लक्ष्मी माया कोइराला बुढाथोकी, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्सन कंडेल, सुमन श्रेष्ठ र सुवास परियार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मङ्सिर ४ गते भारि मतान्तर सहित यहीँबाट निर्वाचित भएका थिए । तर, नागरिकता विवादमा अदालतले उनको संसद पद खारेज गरेपछि चितवन क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

आयोगले चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीमाथि दावी विरोध गर्ने समय तोकिएको छ भने, दावी विरोधमाथि चैत २२ गते छानविन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

चितवन क्षेत्र नं २ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता छन् । मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि यो क्षेत्रमा ४ सय ८० मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताउनु भयो । चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० ओटा वडा पर्छन् ।

भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । पालिका अनुसार हेर्दा कालिकामा ३२ हजार २ सय ४१, इच्छाकामनामा १५ हजार ६ सय २० र भरतपुरका १० ओटा वडामा ७६ हजार ८ सय ३४ मतदाता छन् । उपनिर्वाचनमा ४३ ओटा मतदानस्थल र त्यस अन्तर्गत १ सय ३८ ओटा मतदान केन्द्र बनाइएको छ ।

337923626_605633011462195_5169212000405731875_n

अन्य

भिडियो