दोश्रोचरणको निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आचारसंहित मतदाता शिक्षा जस्ता विषयमा स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तौलिहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नागरिक अभियानका सह अध्यक्ष एवम् इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले २० वर्षपछि हुन लागेको निर्वाचन विगतको स्थानीय निकायको जस्तो नभई अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन भएकोले सबै राजनीतिक दलले भाग लिने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
सबै समस्या समाधान गर्ने एक मात्र सुत्र निर्वाचन भएकोले त्यसको विकल्प नरहेको कुरामा उनले जोड दिए । अध्यक्ष प्याकुरेलले निर्वाचनलाई स्वच्छ धाँधलीरहित र भएरहित बनाउनका लागि नागरिक अभियान अन्तर्गत कपिलवस्तु आइपुगेको बताए ।

अभियानका सह अध्यक्ष नेपाल मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष तथा स्वच्छनिर्वाचनका लागी नागरिक अभियानका सह अध्यक्ष एवम् नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्र अर्यालले लोकतन्त्रमा आस्था राख्नेले निर्वाचनबाट भाग्न नहुने बताउँदै मधेस केन्द्रित दलहरूले निर्वाचनमा भाग नलिएर गल्ती नगर्न आग्रह गरे ।
‘लोकतन्त्रमा विरोध गर्न पाइन्छ । फरक मत राख्न पाइन्छ । तर, निर्वाचन गर्न दिँदैनौँ भन्न नपाइने हुँदा आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारको कुरा पनि ख्याल राख्नु पर्छ ।’-अर्यालले भने ।
मधेस मामलाका विज्ञ पत्रकार डा. राजेश अहिराजले निर्वाचन अभाव, दबाव र प्रभावका कारण स्वच्छ हुन नसक्ने भन्दै दलहरूबिच रहेको भम्र, भ्रमबिचको द्वन्द्वले गर्दा नागरिकबिचमा दुरी बढेकोले दुरी घटाउन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जिल्लामा निर्वाचनको सुरक्षा व्यावस्था मिलाइएको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र अनुसन्धान प्रहरीबिचको समन्वयमा सुरक्षा मजबुद बनाइएको बताए ।
प्रजिअ ढकालले निर्वाचनमा भाग लिँदैनौँ भन्न पाइन्छ तर कसैलाई मताधिकारबाट वञ्चित गराउँछौँ भन्नु मानव अधिकार विरोधी भएकोले कँही कतै त्यस्ता गतिविधि भए प्रशासन चुप नलाग्ने बताए ।
निर्वाचन कार्यालयका अधिकारी ज्ञानहरी शर्माले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै निर्वाचनका लागि खटिने मतदान अधिकृतको तालिम समेत सुरू भएको बताए ।
अन्तरक्रियामा कार्यक्रममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका डा. केपी शर्मा (जनसन)ले संविधान संशोधन बिना मधेसवादी दलहरू निर्वाचनमा भाग लिन नसक्ने बताउँदै जबरजस्ती निर्वाचन भए प्रतिवाद गर्ने बताए ।
नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य आजाद अहमद दर्जिले जनताले निर्वाचन चाहेका छन् भन्दै लोकतन्त्रमा आस्था राख्नेहरू जनतादेखि भाग्न नहुने बताए । जतनाको जनमतका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै उनले निर्वाचनमा भाग लिएर जनमत ल्याउन आग्रह गरे । यसैगरी राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको विश्वास गर्न सबैमा आग्रह गरे ।