इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशालामा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले थातथलोमा नै गएर पीडितसँग कुराकानी गरेर ल्याएको तथ्यले वर्ष पुस्तकको विश्वसनीयता बढाउने बताउनु भयो ।
उहाँले मानव अधिकार उल्लङ्घनका घटनाको तथ्य र तथ्याङ्कलाई पठनीय र सङ्ग्रहनीय हुने गरी प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नेपाल मानव अधिकार वर्ष पुस्तकले मान्छेका अधिकारलाई मुखरित गर्नु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका महासचिव रघुनाथ अधिकारीले इन्सेकको स्रोत र साधन र जनशक्तिको मितव्ययी परिचालनबाट ओजिलो पुस्तक प्रकाशन गर्नु पर्ने बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सुधार्नु पर्ने विषयमा सुधार गर्दै र नयाँ थप गर्नु पर्ने विषयसमेत थप गर्दै अझै परिष्कृत बनाउने बताउनु भयो ।
मानव अधिकार वर्ष पुस्तकको आगामी अङ्कहरूका परिमार्जनका सन्दर्भमा छलफल गर्न आयोजित कार्यशालामा मानव अधिकार प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेलले वर्ष पुस्तक तयारीको समयरेखासहित योजना प्रस्तुत गर्नु भयो ।
त्यसैगरी कृष्ण गौतमले व्यव्थापिका, सम्झा श्रेष्ठले न्यायपालिका, रमेशप्रसाद तिमल्सिनाले कार्यपालिका लेखनमा गरिएको अभ्यास र आगामी योजना प्रस्तुत गर्नु भयो ।
अनुज केसीले तथ्याङ्क प्रस्तुती र सुना प्याकुरेलले दलितका अधिकार र फौजदारी न्यायका सवालमा योजना र ढाँचा प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत ढाँचामा इन्सेक कार्यसमितका पूर्व सदस्य शोभाकर बुढाथोकी, अधिवक्ता रविन्द्र भट्टराई, मिडिया विज्ञ विनोद भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी,राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले टिप्पणी गर्नुका साथै सुझाव दिनु भएको थियो ।
उहाँहरूले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई अझै परिष्कृत गर्न आआफ्नो ठाउँबाट सहयोग गर्नेसमेत बताउनु भएको छ ।
