INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय छुवाछुत घटनाका आरोपित गाउँपालिका अध्यक्षविरुद्ध उजुरी दर्ता

भगवानपुर गाउँपालिकाका अध्यक्ष ४९ वर्षीय उग्रनारायण यादवविरुद्ध जातीय भेदभाव तथा छुवाछुत घटनाको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत १४ गते उजुरी दर्ता भएको छ ।

भगवानपुर गाउपालिका–१ का शिवदयाल सदा, बिन्देश्वर मण्डल लगायत १२ जनाले चैत ७ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले दर्ता गरेको हो ।

फागुन २२ गते यादवको आमाको १३ औं पूण्य तिथिका दिन आयोजीत भोज कार्यक्रममा निम्तालुलाई ‘यादव समुदाय’, गिरी समुदाय’, बंगाली समुदाय’, ‘राजपुत समुदाय’, ‘मुस्लिम समुदाय’, ‘सुडी समुदाय’, ‘पासवान समुदाय’, ‘राम समुदाय’, ‘खत्वे खड्ग समुदाय’, ‘सदाय समुदाय’, ‘विश्वकर्मा समुदाय’, ‘दास÷अमात्य समुदाय’लगायत प्लेकार्ड राखेर बस्ने ठाउँको व्यवस्था गरि भोज खुवाइएको थियो । सोही घटनाको विरोधमा दलित समुदायहरू आन्दोलित भई गाउँपालिका अध्यक्ष विरुद्ध कारबाहीको लागि उजुरी दिएको संयुक्त दलित मोर्चाका सचिव रविन महराले बताउनु भयो ।

घटनाको विरोधमा राष्ट्रिय दलित आयोगले आरोपितलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै फागुन २५ गते विज्ञप्ती प्रकाशित गरेको थियो । कानूनको उलङ्घन जो सुकैले गरको भए पनि त्यो दण्डण्ीय हुने भन्दै दलित समुदायलाई ब्यानरै राखेर अलगै भोज खुवाएको भन्दै गाउँपालिका अध्यक्षलाई तत्काल नियन्त्रनमा लिएर कारबाही गर्न आयोगका अध्यक्ष देवराज विश्वकर्माले ध्यानाकर्षण गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्दैराज पाण्डेका अनुसार गाउँपालिका अध्यक्ष विरुद्ध आएको उजुरी दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताउनु भयो ।

गाउँपालिका अध्यक्ष यादवले आफू क्रियामा बसेको र भोज व्यवस्थापनको जिम्मा व्यवस्थापन समितिलाई दिएकोले समितिबाट त्रुटि भएकोले यसबाट आफू दुखि भएको र छुवाछुत गर्ने मनसाय नभएको बताउनु भयो ।

 

अन्य

भिडियो